आजदेखि पोखरा-दुबईको नियमित उडान
काठमाडौं : आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ। लामो समयदेखि अन्तर्राष्ट्रिय उडानको निरन्तरता पाउन नसकेको विमानस्थलबाट नियमित उडान सुरु हुन लागेपछि पोखराका पर्यटन व्यवसायी तथा उद्योगी उत्साहित भएका छन्।
फ्लाई दुबईको विमान बुधबार साँझ ६:१५ पोखरा अवतरण गर्ने र यात्रु लिएर ७:१५ बजे दुबईका लागि प्रस्थान गर्ने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए। विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गर्ने तयारी गरिएको निरौंलाले बताए।
अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक अध्यागमन, भन्सार, कार्गोलगायत सेवा सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको विमानस्थल प्रशासनले जनाएको छ।
महाप्रबन्धक निरौलाले विमानस्थल सञ्चालनमा आएको केही वर्ष भएपनि यसअघि भएका अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउन नसकेको उल्लेख गर्दै फ्लाई दुबईको नियमित सेवाले नयाँ उत्साह थपेको बताए।
फ्लाई दुबईबाट पोखरा आउने तथा पोखराबाट दुबई जाने यात्रु र पर्यटकलाई पोखराका पर्यटन व्यवसायीले खादा तथा मालाले स्वागत र बिदाइ गर्ने तयारीसमेत गरेका छन्।
पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले यात्रु जाँचपास, राजस्व संकलन तथा वैध व्यापार सहजीकरणलगायतका लागि आवश्यक व्यवस्थापन पूरा गरिएको बताए।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले दुबई विश्वकै महत्वपूर्ण हवाई ट्रान्जिट हब भएकाले पोखरा–दुबई नियमित उडानले अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने बताए।
फ्लाई दुबईले दुबईबाट विश्वका १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखराबाट दुबई हुँदै अन्य मुलुकमा जाने यात्रुलाई समेत सेवा पुग्ने उनको भनाइ छ।
रोजगारी तथा अध्ययनका लागि नेपालीहरू दुबई जाने क्रम रहेकाले पोखराबाटै नियमित उडान हुँदा त्यसतर्फ जाने यात्रुलाई पनि सहज हुने पर्यटन व्यवसायीहरूको अपेक्षा छ।
यसैबीच, अन्तर्राष्ट्रिय उडान सुरु हुने भएपछि विमानस्थलको सुरक्षा व्यवस्थाबारे जिल्ला सुरक्षा समितिले समेत निरीक्षण गरेको छ। प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलमा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए।
.gif)

.png)
