पासाङ ल्हामुसहित तीन प्रमुख सडक बन्द
काठमाडौं : बाढी तथा पहिरोका कारण रसुवा, मनाङ र म्याग्दीका तीन प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
सडक अवरुद्ध भएपछि यात्रु तथा सवारी आवागमन प्रभावित भएको छ।
रसुवा र नुवाकोट जोड्ने पासाङ ल्हामु राजमार्ग बाढीका कारण लामो समयदेखि अवरुद्ध रहेको छ।
गत भदौ १० गते आएको विनाशकारी बाढीले त्रिशूली बजार, बेत्रावती बजार हुँदै रसुवागढी नाकासम्म जाने सडकखण्डको त्रिशूली नदी किनारको अधिकांश भाग कटान गरेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।
तर स्याफ्रुबेंसीसम्म पुग्न भने वैकल्पिक बाटो प्रयोग गर्न सकिने जनाइएको छ।
काठमाडौं–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पार्च्याङ–भोर्ले–० किमि–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे हुँदै स्याफ्रुबेंसीसम्म पुग्ने सिंगल लेनको कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिनेछ।
यसैगरी मनाङको बेंसीसहर–खाङसार सडकखण्ड पनि अवरुद्ध भएको छ।
असोज ९ गते बिहान ६ः३० बजेतिर रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले बेंसीसहर हुँदै खाङसार जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
म्याग्दीको बेनी–जोमसोम सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ।
असोज १० गते बिहान ५ः५० बजे रघुगंगा गाउँपालिका–२ बैसरीमा सडक माथिबाट लेदोमाटोसहितको पहिरो खसेपछि सडकखण्ड पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
तीनवटै सडकखण्ड अवरुद्ध भएपछि सम्बन्धित क्षेत्रमा आवतजावत प्रभावित भएको छ। सडक खुलाउन आवश्यक पहल तथा अवरोध हटाउने काम अघि बढाउनुपर्ने अवस्था रहेको छ।

.gif)

.png)


