दसैँमा तोकिएभन्दा बढी भाडा लिए कारबाही गरिने
काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैँलगायत चाडपर्वका समयमा यात्रुसँग सरकारले निर्धारण गरेकोभन्दा बढी भाडा नलिन यातायात व्यवसायी तथा चालकलाई आग्रह गरेको छ ।
महासंघले तोकिएकोभन्दा बढी भाडा असुल गर्ने सवारीसाधनमाथि कारबाही हुने जनाएको छ ।
महासंघका महासचिव डेकनाथ गौतमले चाडपर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले भाडा असुलीमा मनपरी नगर्न व्यवसायीलाई निर्देशन दिइएको बताए । उनले सरकारले तोकेको भाडाभन्दा बढी रकम लिने सवारीसाधनलाई कारबाही गरिने जानकारी दिए ।
सरकारले यस वर्षको दसैँलाई लक्षित गर्दै असोज २३ गतेदेखि देशभर यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ ।
यात्रु तथा मालवाहक सवारीसाधनको सञ्चालनलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, मजदुर संघ–संगठन, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयबीचको समन्वयमा यस्तो निर्णय गरिएको हो ।
महासंघले सातै प्रदेश, जिल्ला समिति, सदस्य संघ–संस्था तथा काठमाडौंको गोङ्गबु बसपार्कमा कार्यरत शाखा प्रमुख र कर्मचारीलाई आवश्यक निर्देशनसमेत दिएको छ ।
अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले अनिवार्य रूपमा तोकिएको पोसाक र परिचयपत्र लगाउनुपर्ने व्यवस्था गरिएको छ ।
यात्रुलाई सहज रूपमा टिकट उपलब्ध गराउँदै उनीहरूसँग नम्र व्यवहार गर्न र सुरक्षित यात्राको वातावरण बनाउन महासंघले निर्देशन दिएको छ ।
दसैँको भीड व्यवस्थापनका लागि असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरसहित ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ ।
यद्यपि खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनको आवतजावतमा भने रोक नलाग्ने जनाइएको छ ।
त्यस्तै, घटस्थापनादेखि कात्तिक १० गतेसम्म यात्रुवाहक सवारीसाधनका लागि देशभर लामो तथा मध्यम रुट परमिट खुला गरिएको छ ।
सडकको विशेष अवस्थाका कारण निश्चित आकार–प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा लगाइएको प्रतिबन्ध भने यथावत् रहने महासंघले जनाएको छ ।
काठमाडौं उपत्यकाका प्रमुख नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षको अनुगमन तथा सहजीकरणका लागि यातायात व्यवस्था विभागले फोकल पर्सनसहितको टोली परिचालन गर्नेछ ।
महासंघले गोङ्गबु बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला र चाबहिल क्षेत्रमा पनि जिम्मेवारी तोकेको छ । चाडपर्वका बेला यात्रुवाहक सवारीसाधनको प्राविधिक अवस्थालाई समेत प्राथमिकतामा राखिएको छ ।
यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय, टेकुबाट प्राविधिक कर्मचारी खटाएर गोङ्गबु बसपार्कमै सवारीसाधनको निःशुल्क फिटनेस परीक्षण गर्ने व्यवस्था मिलाइने महासंघले जनाएको छ ।
.gif)

.png)


