कांग्रेसको मतदान सुरु : शोभाकान्त बरालले गरे पहिलो मतदान


२०८३ असोज २३ शुक्रबार ०९:०२ बजे

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । 

ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशबाट पहिलो मत खसालेसँगै मतदान प्रक्रिया सुरु भएको हो ।

नयाँ नेतृत्व चयनका लागि प्रतिनिधिहरू बिहानैदेखि मतदानस्थलमा लाइनमा बसेका थिए । 

खराब मौसम र प्राविधिक समस्याका कारण मतदान सुरु गर्न ढिलाइ भएपछि अघिल्लो दिन तय गरिएको समयतालिका परिवर्तन गरी आज बिहान मतदान सुरु गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए ।

उनका अनुसार दिउँसो ३ बजेसम्म मतदान गर्न सकिनेछ । महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि रहेको कटुवालले जानकारी दिए ।

कुन प्रदेशले कहाँ मतदान गर्ने ?

निर्वाचन समितिले प्रतिनिधिहरूको सहजताका लागि विभिन्न स्थानमा मतदान केन्द्र तोकेको छ । 

प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ ।

निर्धारित मतदान केन्द्रअनुसार राष्ट्रिय सभा गृहको मतदान केन्द्र ‘क’ मा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । 

खुलामञ्चको मतदान केन्द्र ‘ख’ मा कोशी प्रदेश तथा तराई–मधेस समूहका प्रतिनिधिका लागि व्यवस्था गरिएको छ ।

त्यसैगरी, हिमाल हलमा गण्डकी प्रदेश, तराई–मधेस हलमा मधेस प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । 

पहाड हलमा भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिका लागि मतदानको व्यवस्था गरिएको छ ।

परिचयपत्र रुजु गरेपछि मात्रै मतदान

निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफ्नो प्रदेश तथा समूहका लागि तोकिएको मतदान केन्द्रमा जान आग्रह गरेको छ । 

मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ । उक्त प्रक्रिया पूरा भएपछि मात्रै मतदान गर्न पाइने व्यवस्था गरिएको छ ।

निर्वाचन आचारसंहिताले निषेध गरेका मोबाइल फोनलगायत सामग्री मतदानस्थलमा लैजान नपाइने समितिले जनाएको छ । 

प्रतिनिधिहरूले समितिले तोकेको प्रक्रिया पालना गरेर मात्रै मतदान गर्न पाउनेछन् ।

आजै मतगणना गर्ने तयारी

निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरु गर्ने जनाएको छ । आजै मतगणना थाल्ने तयारी गरिएको समितिले जानकारी दिएको छ ।

मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिनेछ । त्यसपछि कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ ।

महाधिवेशनले विधान संशोधन गर्दै कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ । 

नयाँ संरचनाअनुसार निर्वाचित हुने पदाधिकारी तथा केन्द्रीय सदस्यले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्नेछन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७