बुढीगण्डकीमा बाढीको कारण हिमपहिरो भएको निष्कर्ष
काठमाडौं : बुढीगण्डकी नदीमा आइतबार आएको बाढीको मुख्य कारण हिमपहिरो वा चट्टानी पहिरो हुन सक्ने जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रले बाढीसम्बन्धी स्थिति प्रतिवेदन सार्वजनिक गर्दै माथिल्लो क्षेत्रमा भएको हिमपातपछि ठूलो हिमपहिरो वा चट्टानी पहिरो गएको देखिएको जनाएको हो।
केन्द्रको भौगोलिक तथा भौगर्भिक विश्लेषणअनुसार अक्टोबर १० मा माथिल्लो क्षेत्रमा व्यापक हिमपात भएको थियो। सोही क्षेत्रबाट ठूलो हिमपहिरो वा चट्टानी पहिरो सुरु भएको संकेत स्याटेलाइट तस्बिरमा देखिएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार अक्टोबर ६ को स्याटेलाइट तस्बिरमा बाढीको उद्गमस्थलको माथिल्लो भागमा हल्का हिउँ र चट्टानी ढलान मात्रै देखिएको थियो। तर, अक्टोबर १० को तस्बिरमा माथिल्लो भागमा व्यापक नयाँ हिमपात भएको र त्यहीँबाट पहिरो सुरु भएको देखिएको केन्द्रले जनाएको छ।
“गेग्रान बहावको बाटो अक्टोबर १० को तस्बिरमा माथिल्लो हिमशिखरबाट एउटा गाढा कालो रेखा सुरु भएर ठाडो खोँच हुँदै तलतिर तीव्र गतिमा बगेको देखिन्छ,” प्रतिवेदनमा भनिएको छ।
केन्द्रका अनुसार भीषण हिमपहिरो वा लेदो पहिरोले आफ्नो बाटोमा रहेका वनस्पति र माटोसमेत बगाएर लगेको देखिन्छ। पहिरोबाट बगेको गेग्रान र लेदो तीव्र गतिमा तल झर्दै चुम्लिङ र रिप्चेतनजिकै मुख्य नदीको दोभानमा पुगेर थुप्रिएको विश्लेषण गरिएको छ।
त्यसरी थुप्रिएको गेग्रानले तल्लो उपत्यकामा नदीको प्राकृतिक बहाव केही समयका लागि अवरुद्ध गरेको केन्द्रले जनाएको छ। नदीमा गेग्रान थुप्रिएर अस्थायी अवरोध बनेको र त्यसले पानी थुनिएको हुन सक्ने संकेत पनि प्रतिवेदनले गरेको छ।
केन्द्रको प्रारम्भिक विश्लेषणले बाढीको घटनामा माथिल्लो क्षेत्रमा भएको हिमपात, हिमपहिरो वा चट्टानी पहिरो र त्यसबाट उत्पन्न गेग्रान बहावबीच सम्बन्ध रहेको देखाएको छ।
.gif)

.png)


