दसैंमा घर फर्किनेको लर्को : २४ घण्टामा उपत्यकाबाट ५६ हजारभन्दा बढी बाहिरिए
काठमाडौं : बडादसैं नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ।
अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका मानिसहरू दसैं मनाउन आफ्नो गाउँघर फर्किन थालेपछि उपत्यकाका विभिन्न नाकामा यात्रुको चहलपहल बढेको हो।
सोमबार बिहानदेखि मंगलबार बिहानसम्मको २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ जना यात्रु बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।
उपत्यकाबाट बाहिरिने यात्रुको सबैभन्दा ठूलो सङ्ख्या नागढुङ्गा नाकामा देखिएको छ।
उक्त नाकाबाट २७ हजार ६४९ जना बाहिरिएका छन्। त्यस्तै, भक्तपुर नाकाबाट २० हजार ६१५ र फर्पिङ नाकाबाट ५ हजार ५१० जना बाहिरिएको खनालले जानकारी दिए।
उनका अनुसार तीनपिप्ले नाकाबाट ९७२, भट्टेडाँडा नाकाबाट ८८६, साँखु नाकाबाट ६०८, भीमढुङ्गा नाकाबाट ५१३ र थानकोट नाकाबाट ५६ जना बाहिरिएका छन्।
दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै सार्वजनिक यातायात व्यवस्थापनमा समेत चुनौती थपिएको छ।
सडकको अवस्थाका कारण सवारीसाधन समयमा गन्तव्यमा पुग्न नसक्दा यातायात व्यवसायीलाई यात्रुको चाप व्यवस्थापन गर्न कठिनाइ भएको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिएका कारण सवारीसाधन सञ्चालनमा समस्या भइरहेको बताए।
सडक अवरुद्ध हुँदा गन्तव्यमा पुग्नुपर्ने सवारीसाधन समयमा पुग्न नसकेको र काठमाडौं फर्किने सवारीसाधनसमेत प्रभावित भएको उनको भनाइ छ।
गौतमका अनुसार असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर सवारी आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौंमै रोकिएका थिए।
त्यसको असर अहिले पनि सवारीसाधन व्यवस्थापनमा परेको उनले बताए।
दसैँका बेला यात्रुको चाप बढ्ने र सडकको अवस्थाले यात्रा प्रभावित हुन सक्ने भएकाले महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न तथा यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ।
दसैँ परिवार तथा आफन्तसँग भेटघाट गर्ने र आपसी सम्बन्ध प्रगाढ बनाउने प्रमुख चाड भएकाले रोजगारी र अध्ययनका लागि राजधानीमा बस्दै आएका मानिसहरू हरेक वर्ष यस समयमा घर फर्किने गर्छन्।
चाडपर्व नजिकिँदै जाँदा आगामी दिनमा पनि उपत्यकाबाट बाहिरिने यात्रुको चाप थप बढ्ने अपेक्षा गरिएको छ।
.gif)

.png)



