रसुवा–भोटेकोशी बाढी : सर्वसाधारणको निजी सम्पत्तिमा ७९ अर्बको क्षति


२०८३ कार्तिक १० सोमबार ०९:०४ बजे
फाइल फोटो

काठमाडौं : रसुवा–भोटेकोशी बाढीले सर्वसाधारणको निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको प्रारम्भिक अध्ययनले देखाएको छ। 

राष्ट्रिय योजना आयोगले गरेको विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) अन्तर्गतको घरधुरी सर्वेक्षणले बाढीबाट घरपरिवार र व्यवसायीको सम्पत्तिमा ठूलो क्षति पुगेको देखाएको हो।

आयोगका अनुसार कुल क्षतिमध्ये ६९ अर्ब ५७ करोड रुपैयाँ घरपरिवारको सम्पत्तिमा र ९ अर्ब ६० करोड रुपैयाँ व्यवसाय तथा प्रतिष्ठानको सम्पत्तिमा भएको छ। निजी सम्पत्तिमा भएको क्षतिको करिब ८८ प्रतिशत हिस्सा घरपरिवारको रहेको छ।

१० भदौमा आएको बाढीबाट घर, जग्गा, व्यवसाय, बाली, पशुपन्छी, सवारीसाधन तथा घरायसी सामानमा पुगेको क्षतिलाई प्रारम्भिक मूल्यांकनमा समेटिएको आयोगले जनाएको छ। 

सडक, जलविद्युत् लगायतका पूर्वाधार, उत्पादनशील क्षेत्र, सामाजिक संरचना र वातावरणमा भएको क्षति भने उक्त रकममा समावेश छैन।

बाढीबाट भएको हानि–नोक्सानीको विस्तृत मूल्यांकन गरी वित्तीय आवश्यकता पहिचान तथा पुनर्निर्माण योजना तयार गर्ने उद्देश्यले मन्त्रिपरिषद्ले १२ भदौमा पीडीएनए प्रतिवेदन तयार गर्ने निर्णय गरेको थियो। 

सोहीअनुसार आयोगले प्रश्नावली बनाएर प्रभावित क्षेत्रमा तथ्यांक संकलन गरेको हो।

तथ्यांक संकलनका लागि ५८ टोलीमा १५६ जना प्राविधिक तथा प्रशासनिक जनशक्ति परिचालन गरिएको आयोगले जनाएको छ। संकलित विवरणको प्रशोधन तथा विश्लेषण भइरहेको र सार्वजनिक गरिएको नतिजा प्रारम्भिक रहेको आयोगको भनाइ छ।

६ हजार ८ सय भन्दा बढी परिवार प्रभावित

सर्वेक्षणको प्रारम्भिक नतिजाअनुसार रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ स्थानीय तहमा ६ हजार ८१७ घरपरिवार र १ हजार ६३८ व्यवसाय प्रभावित भएका छन्।

बाढीबाट कुल ३२ हजार ८७२ जना प्रत्यक्ष प्रभावित भएको विवरणमा उल्लेख छ।

प्रभावितमध्ये १६ हजार ७१४ पुरुष, १६ हजार ८० महिला र ७८ जना अन्य लिङ्गी वा लैङ्गिक पहिचान नखुलेका व्यक्ति छन्।

जिल्लागत विवरणमा नुवाकोट सबैभन्दा बढी प्रभावित देखिएको छ। त्यहाँ १७ हजार ९५४ जना प्रभावित भएका छन् भने ४ हजार १६४ घरपरिवार तथा प्रतिष्ठानले क्षति बेहोरेका छन्।

त्यस्तै, रसुवामा ९ हजार ६७६ जना अर्थात् १ हजार ९७७ घरपरिवार, धादिङमा ४ हजार ५८४ जना अर्थात् १ हजार ५२ घरपरिवार र गोरखामा ६५८ जना अर्थात् १२३ घरपरिवार प्रभावित भएका छन्।

जग्गामा मात्रै ३५ अर्बभन्दा बढीको क्षति

बाढीबाट भएको निजी सम्पत्तिको क्षतिमध्ये जग्गाजमिनमा सबैभन्दा ठूलो नोक्सानी देखिएको छ। 

सर्वेक्षणअनुसार ३ हजार ६१० परिवारको ५०८ हेक्टर जमिनमा क्षति पुगेको छ। उक्त जमिनको अनुमानित मूल्य ३५ अर्ब ४४ करोड रुपैयाँ रहेको आयोगले जनाएको छ।

त्यसैगरी, आफ्नै स्वामित्वको घर रहेको जग्गामा १३ अर्ब २६ करोड रुपैयाँ बराबरको क्षति भएको छ। भवन निर्माणमा गरिएको लगानीतर्फ थप ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको क्षति आकलन गरिएको छ।

बाढीले घरजग्गामा मात्रै नभई घरभित्रका सामान तथा अन्य व्यक्तिगत सम्पत्तिमा समेत ठूलो नोक्सानी पुर्‍याएको छ।

आयोगका अनुसार २ हजार ३३० परिवारका नगद, बहुमूल्य, सांस्कृतिक तथा पुरातात्त्विक वस्तुमा ५ अर्ब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

त्यस्तै, ३ हजार १८७ परिवारका स्थायी प्रकृतिका घरायसी सामानमा १ अर्ब ४५ करोड रुपैयाँ र १ हजार ११५ परिवारका १ हजार ४२३ सवारीसाधनमा १ अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। 

अस्थायी प्रकृतिका घरायसी सामानमा २ हजार ७६९ परिवारको ६६ करोड ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

कृषि उत्पादनतर्फ लगाइएको बालीमा २३ करोड २१ लाख, भण्डारण गरिएको खाद्यान्नमा १० करोड ४१ लाख तथा पशुपन्छी र माछापालनमा २१ करोड ४२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ।

बाढीले घरपरिवारले पालेका ६६४ ठूला पशु, ४ हजार ६०१ साना पशु, ६३ हजार ६३३ पन्छी तथा २४ हजार ५०८ किलो माछा नष्ट गरेको आयोगले जनाएको छ।

४ हजारभन्दा बढी भवन संरचनामा क्षति

बाढीबाट ३ हजार ९६७ घरधनीका ४ हजार १५१ भवन संरचनामा क्षति पुगेको छ। तीमध्ये २ हजार ७०२ घर, २८८ गोठ, धनसार वा मतान, ६५१ ट्रस र २६३ टहरा रहेका छन्। 

अन्य १४२ संरचनाको प्रकार खुलाइएको छ भने १५ संरचनाको प्रकार पहिचान हुन सकेको छैन।

क्षतिग्रस्त संरचनामध्ये २ हजार ९८९ अर्थात् करिब ७२ प्रतिशत पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। 

त्यस्तै, ५०८ संरचना माटो तथा लेदोले पुरिएका छन् भने ३०२ भवनमा आंशिक र १९२ मा सामान्य क्षति पुगेको छ। १४१ संरचना ढल्किएको सर्वेक्षणले देखाएको छ।

आयोगका अनुसार कुल क्षतिग्रस्त संरचनामध्ये ३ हजार १०४ अर्थात् ७६.९५ प्रतिशत पुनः प्रयोग गर्न नसकिने अवस्थामा छन्। 

पूर्ण मर्मतपछि ३३२ र सामान्य मर्मतपछि ३२० संरचना प्रयोग गर्न सकिने देखिएको छ। मर्मत नगरी बस्न मिल्ने संरचनाको संख्या भने ९७ मात्रै छ।

व्यापार तथा सेवा क्षेत्र पनि प्रभावित

बाढीबाट प्रभावित १ हजार ६३८ व्यवसाय तथा प्रतिष्ठानमध्ये सबैभन्दा ठूलो हिस्सा थोक तथा खुद्रा व्यापारको छ। आयोगका अनुसार ७७४ प्रतिष्ठान अर्थात् ४७.२५ प्रतिशत व्यापार क्षेत्रमा आबद्ध छन्।

त्यसपछि आवास तथा खाद्य सेवा क्षेत्रका ३३७ प्रतिष्ठान अर्थात् २०.५७ प्रतिशत, कृषि, वन तथा मत्स्यपालन क्षेत्रका १६६ अर्थात् १०.१३ प्रतिशत र अन्य सेवा क्षेत्रका १३६ अर्थात् ८.३ प्रतिशत प्रतिष्ठान प्रभावित भएका छन्।

व्यवसाय तथा प्रतिष्ठानका ४०३ सवारीसाधनमा ९४ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। 

त्यस्तै, व्यवसायीले पालेका १३० ठूला पशु, २ हजार ५८ साना पशु, १ लाख ५३ हजार ५२ पन्छी र २८ हजार १५० किलो माछा नष्ट भएको प्रारम्भिक विवरणमा उल्लेख छ।

आयोगले संकलित तथ्यांकको थप विश्लेषणपछि बाढीबाट भएको समग्र क्षति, पुनःस्थापनाका लागि आवश्यक वित्तीय स्रोत र पुनर्निर्माणका प्राथमिकता निर्धारण गर्नेछ। 

निजी सम्पत्तिमा मात्रै ७९ अर्ब रुपैयाँभन्दा बढीको क्षति देखिएकाले पूर्वाधार, उत्पादनशील क्षेत्र, सामाजिक संरचना र वातावरणमा भएको क्षतिको विस्तृत मूल्यांकनपछि विपद्को समग्र आर्थिक भार अझ स्पष्ट हुने अपेक्षा गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७