ब्राउन सुगरसहित तीन जना पक्राउ : प्रहरीले चलायो आठ राउन्ड गोली


२०८३ कार्तिक १३ शुक्रबार ०८:४० बजे

विराटनगर : मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले आठ राउन्ड गोली चलाएको छ ।

प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् भने पेस्तोल र करिब आधा किलो ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।

घाइते हुनेमा भारतको अररिया, कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक रहेको मोरङ प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । 

दुवैको घुँडामुनि गोली लागेको छ । उनीहरूको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । पक्राउ पर्ने तेस्रो व्यक्ति मोरङको रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर हुन् ।

लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी टोली परिचालन भएको थियो ।

राति करिब ९ः३० बजे रतुवामाई नगरपालिका–६ शनिश्चरेमा भारतीय नम्बर प्लेटको बीआर ३७ भी ३९२६ र नम्बर नखुलेको अर्को मोटरसाइकलमा सवार तीन जनालाई प्रहरीले रोक्न खोजेको थियो । तर, उनीहरू भाग्न खोजेपछि प्रहरीले गोली चलाएको डीएसपी मिश्रले बताए ।

उनका अनुसार प्रहरीले चाइनिज पेस्तोलबाट पाँच राउन्ड र ब्रेडा पेस्तोलबाट तीन राउन्ड गरी आठ राउन्ड गोली प्रहार गरेको थियो ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट एक थान घरेलु पेस्तोल, त्यसमा लाग्ने एक राउन्ड गोली, करिब ५०० ग्राम खैरो हेरोइन र मोटरसाइकल बरामद गरेको छ ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको आशंका छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७