सत्तामा पुगे सुकुम्बासीलाई जग्गा र आवास दिन्छौँ : हर्क साम्पाङ
झापा : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी सत्तामा पुगे सुकुम्बासीलाई जग्गा र बसोबासको व्यवस्था मिलाउने बताएका छन् ।
मंगलबार झापाको मेचीनगर–६ स्थित काँकडभिट्टामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी श्रमजीवी र गरिब जनताको पक्षमा रहेको बताए ।
पार्टीका श्रमदाताले देशका विभिन्न स्थानमा गरिबका लागि श्रमदान गरिरहेको उल्लेख गर्दै उनले राजनीतिक लक्ष्य भाषणभन्दा कामबाटै प्रमाणित गरिरहेको दाबी गरे ।
सुकुम्बासी समस्या समाधानमा वर्तमान सरकार गम्भीर नभएको आरोप लगाउँदै उनले भने, ‘सरकारमा नभएका कारण हामीले आवाज मात्र उठाउन सकेका छौँ। सत्तामा पुगेको दिन सुकुम्बासीलाई जग्गा र बसोबासको व्यवस्था मिलाउँछौँ ।’
उनले झापाका बासिन्दाले जंगली हात्तीको समस्या झेल्नुपरेको उल्लेख गर्दै नागरिकको जीउधनको सुरक्षा गर्न सरकारसँग आग्रह गरे ।
त्यसैगरी, अर्जुनधारामा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले श्रम गरेरै देशलाई सुखी र समृद्ध बनाउन सकिने बताए ।
.gif)

.png)




