राजाको आक्रामक ब्याटिङमा पोखरालाई चितवनको १५२ रनको लक्ष्य


२०८३ कार्तिक २० शुक्रबार १८:५६ बजे
तस्बिर : नेपाली फोटो सर्भिस (NPS)

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १५२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको हो ।

चितवनका लागि कप्तान सिकन्दर राजाले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ३७ रन बनाए । उनले १६ बलमा २ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै रवि बोपाराले ३५, अर्जुन साउदले ३१ र डाविड मलानले २८ रनको योगदान दिए ।

ओपनर अर्जुन र मलानले पहिलो विकेटका लागि ६० रनको साझेदारी गर्दै चितवनलाई राम्रो सुरुवात दिलाएका थिए । अर्जुनले २७ बलमा २ चौका र एक छक्कासहित ३१ रन बनाए भने मलानले २८ बलमा ३ चौकासहित २८ रन जोडे ।

त्यसपछि रवि बोपाराले एक छेउबाट इनिङ्स सम्हाले पनि डान मोस्ले २ र यस सिजन पहिलो खेल खेलिरहेका मार्की खेलाडी कुशल मल्ल ११ रनमा आउट भए ।

८६ रनमा चार विकेट गुमाएको अवस्थामा बोपारा र कप्तान राजाले पाँचौँ विकेटका लागि ६० रनको साझेदारी गरे । उनीहरूको आक्रामक ब्याटिङले चितवनलाई सम्मानजनक योगफलसम्म पुर्‍यायो ।

तर अन्तिम ओभरमा पोखराका कप्तान चमिका करुणारत्नेले बोपारा र राजालाई आउट गर्दै चितवनको रनगति रोके । बोपाराले २८ बलमा ३ चौका र एक छक्कासहित ३५ रन बनाए । कमलसिंह ऐरी २ रनमा अविजित रहे ।

पोखराका लागि कप्तान करुणारत्ने, विपिन खत्री र कुशल भुर्तेलले समान २ विकेट लिए । लगातार तीन हार बेहोरेपछि पोखराले यस खेलमा कप्तान परिवर्तन गरेको हो ।

कुशल भुर्तेलको स्थानमा श्रीलंकाली खेलाडी चमिका करुणारत्नेलाई कप्तानीको जिम्मेवारी दिइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७