एमालेसँग चुनावी सहमति भइसक्यो : प्रचण्ड
स्थानीय र प्रदेश निर्वाचनमा एमालेसँग मिल्ने प्रचण्डको घोषणा
काठमाडौं : नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा एमालेसँग मिलेर जाने सहमति भइसकेको बताएका छन्।
सोमबार गोरखा पुगेका प्रचण्डले एमालेसहित सबै कम्युनिस्ट घटकसँग सडक र सदन दुवैमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको बताएका हुन्। उनले एमाले र मसालसँग सदनभित्र र सडकमा मिलेर संघर्ष गर्ने सहमति भएको र स्थानीय तथा प्रदेशसभा निर्वाचनमा पनि मिलेर लड्ने नीतिगत निर्णय भएको जानकारी दिए।
‘सहकार्य गर्ने सहमति त भइसकेको छ। एमाले र मसालसँग सदनभित्र र सडकमा मिलेर नै संघर्ष गर्ने सहमति भइसकेको छ। स्थानीय र प्रदेशको निर्वाचनमा पनि मिलेर नै लड्ने भन्ने नीतिगत निर्णय भएको छ,’ उनले भने। प्रचण्डले सहकार्यमा मात्रै सीमित नभई कम्युनिस्ट पार्टीहरूबीच एकता गरेर एउटै केन्द्र निर्माण गर्ने विषयमा समेत छलफल भइरहेको बताए।
कम्युनिस्ट आन्दोलनको रक्षा, देशको स्वाधीनता र समाजवादको दिशामा अघि बढ्न कम्युनिस्टहरू एउटै केन्द्रमा आउनुपर्ने उनको भनाइ थियो। एमालेका नेताहरूसँग पनि निरन्तर छलफल भइरहेको बताउँदै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहकार्य र एकताको आवश्यकता बुझाउन भने सहज नभएको टिप्पणी गरे।
‘एमालेका नेताहरूसँग पनि छलफल भइरहेको छ। यद्यपि केपीजीलाई कुरा बुझाउन सजिलो भइराखेको छैन। तर पनि फेरि देशको परिस्थिति बदल्न हामी सहकार्य र एकता गरेर जानुपर्छ भन्नेमा राम्रै कुरा भएको छ,’ उनले भने।
प्रचण्डले कांग्रेससहित संविधानसभा र शान्ति सम्झौतामा सहभागी राजनीतिक शक्तिहरूसँग पनि निरन्तर छलफल भइरहेको बताए। मधेश केन्द्रित दलहरूसँग समेत संविधान, गणतन्त्र, समावेशिता र सङ्घीयताको रक्षाका लागि एकताबद्ध भएर अघि बढ्ने विषयमा सकारात्मक छलफल भइरहेको उनले जानकारी दिए।
.gif)

.png)




