मोदीलाई बालेनको सन्देश : विश्वास अग्लो होस्, सहकार्य अविरल बगोस्


२०८३ मङ्सिर ७ सोमबार १४:४७ बजे
तस्बिरः प्रधानमन्त्री बालेनको सचिवालय

नयाँदिल्ली : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल–भारतबीचको विश्वास हिमालझैँ अग्लो र सहकार्य नदीझैँ अविरल बगोस् भन्ने कामना गरेका छन् । उनले दुवै राष्ट्रको साझा समृद्धिको पनि कामना गरेका छन् ।

सोमबार नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै शाहले यस्तो कामना गरेका हुन् । 

‘नेपाल र भारतबीचको मित्रता यस्तो होस्, जहाँ विश्वास हिमालझैँ अग्लो होस्, सहकार्य नदीझैँ अविरल बगोस् र दुवै राष्ट्रको समृद्धि हाम्रो साझा आकाशमुनि फक्रियोस्,’ उनले भने ।

नेपाल र भारतबीचको सम्बन्धलाई शब्दको सीमिततामा बाँध्न नसकिने उल्लेख गर्दै शाहले यो सम्बन्ध पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भावमा आधारित रहेको बताए ।

‘पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धको मूल आधारशिला हो’, उनले भने, ‘अतुलनीय एवं अपरिमित यस सम्बन्धको केन्द्रमा हाम्रा दुई देशका जनता रहेका छन् ।’

दुई देशबीचको सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिका आधारमा नयाँ युगको रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने उनले धारणा राखे ।

शाहले नेपालका भगवान् पशुपतिनाथ, माता जानकी तथा करुणामय मत्स्येन्द्रनाथको आशीर्वाद र नेपाली जनताको स्नेह, प्रेम तथा सद्भाव भारत र भारतीय जनताका लागि लिएर आफू राजकीय भ्रमणमा आएको बताए ।

भारतका प्रधानमन्त्री मोदीले दिएको निमन्त्रणा र न्यानो आतिथ्यका लागि आभार व्यक्त गर्दै शाहले उनलाई नेपाल भ्रमणको निम्तोसमेत दिए ।

उनले भारतीय जनतालाई मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरस्थित माता जानकी, जीवित देवी कुमारी तथा भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल भ्रमणका लागि आमन्त्रण गरे ।

हिमालय क्षेत्रका जलस्रोतले नेपाल र भारतसहित यस क्षेत्रका करोडौँ मानिसलाई जीवन दिइरहेको उल्लेख गर्दै शाहले जलवायु परिवर्तनका चुनौतीलाई सहकार्यका माध्यमबाट सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए ।

हिमालयबाट बगेर गङ्गामा मिसिने नदीहरूले दुवै देशको भविष्य र साझा गन्तव्यको स्मरण गराउने उनको भनाइ थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७