भैरहवा हवाई रुट दुईतर्फी बनाउन भारत सहमत, अब प्राविधिक प्रक्रिया


२०८३ मङ्सिर ७ सोमबार १६:३६ बजे

नयाँदिल्ली : नेपालले एक दशकभन्दा लामो समयदेखि उठाउँदै आएको थप हवाई प्रवेशमार्गको मागमा भारतसँग सहमति जुटेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीच हाल एकतर्फी रहेको भैरहवा हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको हो ।

यससँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय उडानमा जोड्ने सम्भावना विस्तार हुने अपेक्षा गरिएको छ । 

सीमित हवाई प्रवेशमार्गका कारण नेपालको अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रले भोग्दै आएको अवरोध हटाउन यो सहमति महत्त्वपूर्ण मानिएको छ ।

दुई देशबीच जारी संयुक्त वक्तव्यको बुँदा नम्बर ८ मा हाल एकतर्फी रहेको ‘बी३४५’ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन सहमति भएको उल्लेख छ ।

वक्तव्यमा भनिएको छ, ‘हाल एकतर्फी रहेको ‘बी३४५’ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन् । यस सम्बन्धमा मोडालिटीलाई अन्तिम रूप दिन तथा हाल छलफलमा रहेका दुवै पक्षका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ ।’

संयुक्त पत्रकार सम्मेलनमा हवाई रुटसम्बन्धी सहमति सार्वजनिक नगरिए पनि त्यसपछि जारी संयुक्त वक्तव्यमा यो विषय समेटिएको हो ।

नेपालले लामो समयदेखि भारतसँग थप हवाई प्रवेशमार्गको माग गर्दै आएको थियो । 

विशेषगरी गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि ती विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सहज बनाउन भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने थप रुट आवश्यक रहेको नेपालको जोड थियो ।

हाल सीमित प्रवेशमार्गमा निर्भर रहनुपर्दा अन्तर्राष्ट्रिय विमान कम्पनीलाई नेपालका क्षेत्रीय विमानस्थलसम्म उडान सञ्चालन गर्न कठिनाइ हुँदै आएको छ । 

नयाँ सहमतिले अन्तर्राष्ट्रिय उडानका लागि थप विकल्प उपलब्ध गराउने र क्षेत्रीय विमानस्थलको व्यावसायिक सम्भावना बढाउने अपेक्षा गरिएको छ ।

नेपाललाई भैरहवा हवाई मार्ग उपलब्ध गराउने विषयमा सहमति जुटाउन भारतले पनि बागडोग्रा विमानस्थलका लागि नेपालसँग हवाई रुट मागेको थियो । 

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार भएको द्विपक्षीय वार्तामा हवाई रुटसम्बन्धी विषयमा सहमति जुटेको हो ।

यद्यपि, सहमतिअनुसार रुट सञ्चालनको मोडालिटी तय गर्न र अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्ताव टुंग्याउन दुवै देशका अधिकारीबीच प्राविधिक परामर्श हुन बाँकी छ ।

नेपालले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठूलो लगानी गरे पनि पर्याप्त हवाई प्रवेशमार्ग र उडानको अभावमा ती पूर्वाधारबाट अपेक्षित लाभ लिन सकेको छैन । 

भैरहवा हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति कार्यान्वयन भए अन्तर्राष्ट्रिय उडान विस्तार र क्षेत्रीय विमानस्थलको उपयोग बढाउने दिशामा नयाँ बाटो खुल्न सक्छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७