खोटाङमा लोक सेवा आयोगको परीक्षा विथोल्न खोज्ने चार जना पक्राउ


२०७६ श्रावण ४ शनिबार १३:०५ बजे

खोटाङ, ४ साउन। लोकसेवा आयोगको परीक्षा विथोल्न खोजेको भन्दै प्रहरीले खोटाङमा शनिबार चार जनालाई पक्राउ गरेको छ।

दिक्तेलमा बिहान भएको आयोगको पाँचौँ तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर विथोल्न खोजेको भन्दै प्रहरीले नेपाल आदिवासी जनजाति महासङ्घ खोटाङका सचिव रवीन खम्बु, सहसचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामेलाई पक्राउ गरेको हो।

दिक्तेल बहुमुखी क्याम्पसमा भइरहेको आयोगको परीक्षा विथोल्ने प्रयास गरेकाले तीन पुरुष र एक महिलालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताए।

‘परीक्षा केन्द्रमा प्रवेश गरेर हो–हल्ला गर्ने, प्रश्नपत्र र उत्तरपुस्तिका खोस्ने काम उनीहरुले गरेका छन्। नियत हेर्दा जसरी पनि परीक्षा विथोल्न खोजेकाले पक्राउ गरिएको हो,’ उनले भने।

संविधानमा व्यवस्था भएको समावेशी र समानुपातिक व्यवस्था विपरीत लोकसेवा आयोगले विज्ञापन खुलाएको विरोधमा शनिबार आह्वान गरिएको प्रदेश नम्बर १ बन्दअन्तर्गत परीक्षा केन्द्रमा पुगेका चार जनालाई प्रहरीले धरपकड गरेको नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष हात्तीराम राईले बताए। रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७