विपक्षी दलको बैठकमा सत्तारूढ लोसपा अध्यक्ष ठाकुर पनि सहभागी


२०८१ कार्तिक २ शुक्रबार १४:३३ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको प्रतिपक्षी दलहरूको बैठकमा सत्तारूढ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका छन् ।

अध्यक्ष प्रचण्डले आज (शुक्रबार) नयाँ बानेश्वरमा प्रतिपक्षी दलहरूको बैठक राखेका हुन् । उक्त बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), लोसपा र आम जनता पार्टीका शीर्षसहित नेताहरू सहभागी छन् ।

बैठकमा माओवादी अध्यक्ष दाहाल, उपमहासचिव शक्तिबहादुर बस्नेत, रास्वपा सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल र स्वर्णिम वाग्ले, सांसदहरू शिशिर खनाल, सुमना श्रेष्ठ, बिराजभक्त श्रेष्ठ सहभागी छन् । साथै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष ठाकुर, आजपा अध्यक्ष प्रभु शाह पनि बैठकमा सहभागी छन् ।

बाढी पहिरोपछिको अवस्था, सरकारका कामकारबाही, मंसिरमा हुने उपनिर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएका हुन् । रास्वपाले संसदको विशेष अधिवेशन पनि माग गरेको छ । उसले अरू प्रतिपक्षी दलहरूलाई पनि विशेष अधिवेशन बोलाउन साथ दिन अपिल गरेको थियो । बैठकमा सत्तारूढ लोसपा पनि सहभागी छ । संघीय सरकारमा लोसपाबाट एक जना मन्त्री छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७