‘लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन प्रजातन्त्र दिवसले प्रेरणा दिन्छ’


२०८१ फाल्गुण ७ बुधबार ०३:२६ बजे

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा प्रजातन्त्र, लोकतन्त्र र नागरिक स्वतन्त्रताको सपना साकार पार्न आफ्नो जीवन उत्सर्ग गर्ने वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उक्त प्रेरणा दिने बताएका छन् ।

‘विसं २००७ को प्रजातान्त्रिक आन्दोलनले नेपाली जनतालाई निरङ्कुशताको अन्धकारबाट मुक्त गरी स्वतन्त्रताको उज्यालोमा ल्याएको थियो’, सन्देशमा भनिएको छ, ‘प्रजातन्त्र दिवसले हामीलाई लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिने गरेको छ ।’ 

सभामुख घिमिरेले सन्देशमा प्रजातन्त्र, लोकतन्त्र र नागरिक स्वतन्त्रताको सपना साकार पार्न आफ्नो जीवन उत्सर्ग गरेका वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । ‘सहिदहरूको बलिदानले प्रजातन्त्र तथा नागरिक स्वतन्त्रतासँगै देशले गणतन्त्रको यात्रा तय गरेको थियो, विसं २०६२/६३ को जनआन्दोलनले पञ्चायती निरंकुशता र राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको युग प्रारम्भ गर्‍यो’, सन्देशमा भनिएको छ, ‘यो उपलब्धि नेपाली जनताको साहसिक सङ्घर्ष र सहिदहरूको त्यागकै कारण सम्भव भएको हो ।’ मुलुकले राजनीतिक आन्दोलन र क्रान्तिमा महत्वपूर्ण सफलता प्राप्त गरेको तर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन अझै धेरै काम गर्न बाँकी रहेको सन्देशमा उल्लेख छ ।

संविधानको रक्षा, पालना र कार्यान्वयन अहिलेको प्राथमिकता : अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको ठूलो बलिदान र संघर्षबाट प्राप्त लोकतन्त्रको रक्षा एवं प्रवद्र्धनमा सबैको ध्यान जानुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज शुभकामना दिँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको पालना, संरक्षण र कार्यान्वयन अहिलेको प्रमुख प्राथमिकता हुनुपर्ने बताए ।

आजको दिन अग्रगामी राजनीतिक परिवर्तन र जनताको अधिकारका लागि एकताबद्ध हुन प्रेरणा दिने ऐतिहासिक दिन भएको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालको राजनीतिक इतिहासमा २००७ सालको परिवर्तन नै लोकतन्त्र प्राप्तिका लागि पहिलो संगठित, सशक्त र सशस्त्र आन्दोलन भएको बताएका छन् । 

‘लोकतान्त्रिक मूल्यहरूको रक्षा, सुदृढीकरण तथा प्रजातान्त्रिक पद्धतिलाई प्रभावकारी र जनउत्तरदायी बनाउन अघि बढ्ने प्रण गर्नुमै प्रजातन्त्र दिवस मनाउनुको सार्थकता हुनेछ’, अध्यक्ष दाहालले सन्देशमा भनेका छन् । उनले लोकतन्त्रको रक्षा, अभिव्यक्ति स्वतन्त्रता एवं देशको समृद्धि र विकासका लागि एकताबद्ध भई अघि बढ्न प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७