मोसो दल्ने घटनाका संलग्न भएको आरोपमा जसपा नेपाल धरानका उपाध्यक्ष पक्राउ

धरान । ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदमचेन्जि माबोलाई धरानमा मोसो दल्ने घटनामा संलग्न भएको आरोपमा जनता समाजवादी पार्टी नेपाल धरानका उपाध्यक्ष सुमन चेम्जोङ पक्राउ परेका छन् ।
माबोले सोमबार इलाका प्रहरी कार्यालय धरानमा मोसो दल्ने आठ जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले मंगलबार पक्राउ गरिएको हो । माबोको मोसो दल्ने ८ जनाविरुद्ध उजुरी दिएपछि इलाका प्रहरी कार्यालय धरानले जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जीको अनुमति लिएको थियो । अदालतको अनुमतिपछि प्रहरीले चेम्जोङलाई पक्राउ गरिएको धरानका डीएसपी प्रकाश जबेगुले जानकारी दिए । माबोले मोसो दल्नेविरुद्ध आपराधिक उपद्रो ऐन अन्तर्गत किटानी जाहेरी दिएका छन् ।
पक्राउ परेका जसपा उपाध्यक्ष चेम्जोङले माबोलाई मोसो दलिरहेको अवस्थामा आफूले छुट्याएर अप्रिय घटना हुनबाट बचाएको बताएका छन् । उनले आफूलाई फसाउने उद्देश्यले उजुरी दिएको भन्दै सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले धरान–९ स्थित पुतलीलाइनमा कुटपिट गरी मोसो दलेका थिए । मोसो दल्ने कार्यमा संलग्न जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम, पहिचानवादी मोर्चाका नेता जेन्टल लावती लगायत ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जनाइएको छ ।