पूर्वराजासँग नेताहरू किन डराइरहेका छन्, मैले बुझ्न सकेको छैन : नेता डा. कोइराला


२०८१ चैत ८ शुक्रबार ०९:२५ बजे
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस मोरङ–काठमाडौँ सम्पर्क समितिले आज काठमाडौँमा आयोजना गरेको ‘देशको वर्तमान अवस्था, चुनौतीहरू र नेपाली कांग्रेसको भूमिका’ का विषयक अन्तरक्रिया कार्यक्रममा नेता डा. कोइरालाले महाधिवेशन २०८२ मंसिर मसान्तभित्र नभए पार्टी कमजोर हुँदै जाने बताए । उनले महाधिवेशन समयमै गर्न सबैले आवाज उठाउनु पर्ने बताए । 

‘महाधिवेशन २०८२ मङ्सिरभित्र नभए कांग्रेस कमजोर हुँदै जान्छ । त्यतातिर ध्यान दिनुपर्छ, यो एकदम संवेदनशील कुरा हो’, नेता डा. कोइरालाले भने । उनले राजनीतिक दल र नेतृत्वप्रति जनताको वितृष्णा बढेको उल्लेख गर्दै जनताको निराशालाई हटाउन जरुरी भएको धारणा राखे । 

नेता डा. कोइरालाले कांग्रेस जनताको पार्टी भएकाले कांग्रेसप्रति नागरिकको विश्वास कायमै रहेको बताए । जनतासँग गरेका वाचा पूरा गर्न अग्रसर हुनुपर्ने बताउँदै उनले नेतृत्व नसुध्रिए अप्ठ्यारो परिस्थिति सिर्जना हुने जिकिर गरे । ‘नेपाली कांग्रेस जनताको पार्टी हो । नेपाली कांग्रेसलाई अहिले पनि जनता विश्वास गर्छ । तर, हामी सुध्रिनु पर्‍यो । जनतासँग गरेका वाचाहरूलाई पूरा गर्न अग्रसर हुनुपर्‍यो । त्यो गरेनौं भने अप्ठ्यारो परिस्थिति सिर्जना हुन्छ’, नेता डा. कोइरालाले भने । कांग्रेसको ध्यान सत्ता र सरकार केन्द्रित भइरहेको उनको भनाइ थियो । 

 नेता डा. शेखर कोइरालाले पूर्व राजासँग राजनीतिक दलका नेताहरू किन डराइरहेका छन् भन्ने आफूले बुझ्न नसकेको बताएका छन् । जनताको बलमा आएको लोकतन्त्र त्यति कमजोर नरहेको भन्दै कसैको प्रदर्शनबाट तर्सनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । डा. कोइरालाले नेताहरूमा गणतन्त्रलाई सफल पार्ने चिन्ता देखिनुपर्ने बताए । ‘आर्थिक र सामाजिक अवस्था बिग्रिएको छ । तर, राजनीतिक अवस्था प्रचार गरिए जस्तो भयावह छैन’, डा. शेखरले भने, ‘लोकतान्त्रिक गणतन्त्र त्यति कमजोर छैन । हामीहरू किन डराइरहेका छौँ, मैले बुझ्न सकिरहेको छैन ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७