बसमा यात्रा गर्दागर्दै महिलाको मृत्यु

झापा । झापाको दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको यात्रुवाहक बसमा यात्रा गर्दागर्दै एक महिलाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख २५४५ नम्बरको नागरिक यातायातको बसमा सवार मोरङ गछिया बस्ने ४३ वर्षीया कुमारी सेलिङ चेम्जोङको यात्राकै क्रममा मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत साँझ ५.५० बजेतिर झिलझिले आइपुगेपछि सो बसमा सवार अन्य यात्रुले सिटमै महिला ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । बसमा सवार चेम्जोङ झापाको झिलझिले भन्ने ठाउँ पुगेपछि एक्कासी बेहोस भएकी थिइन् । त्यसपछि उनको त्यहींको लालीगुँरास हेल्थ केयरमा उपचार गरिएको थियो ।
त्यहाँ नभएपछि उनलाई बिर्तामोडको बीएण्डसी अस्पताल लगिएको थियो । तर, उनलाई साँझ ६ बजेर ५० मिनेट गएको बेला डाक्टरले मृत घोषित गरे । मोरङको बसिया भन्ने ठाउँ घर भएकी चेम्जोङ दीर्घरोगी भएको खुलेको जिल्ला प्रहरी कार्यालय, झापाका इन्चार्ज मिलन केसीले जानकारी दिए ।