दैनिक दुई सय लिटर दूध बेचेर किसान पुरस्कृत


२०८१ चैत १२ मंगलबार ११:१४ बजे
फाइल फोटो

तनहुँ । तनहुँको व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला धेरै दूध उत्पादन गरेबापत पुरस्कृत भएका छन् । उनले प्रोत्साहन स्वरुप रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरेका हुन् । गण्डकी प्रदेशको ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम’अन्तर्गत पुरस्कार प्राप्त गरेपछि उनले गौरवान्वित महसुस गरेको प्रतिक्रिया दिए । 

पाँच वर्ष अघिदेखि कृषि पेशामा लागेका बाँस्तोलाले यातायात व्यवसाय छाडेर व्यावसायिक रूपमा गाईपालन तथा बाख्रापालन गरेका छन् । उनले कोभिड १९ का बेला लामो समयसम्म बन्दाबन्दी (लकडाउन) भएपछि गाउँ फर्किएर पशुपालन सुरु गरेका थिए । उनको फार्ममा हाल उन्नत प्रजातिका २२ वटा जर्सी तथा होलस्टेन जातका गाई छन् । जसमध्ये १५ लैना गाईबाट दैनिक दुई सय लिटर दूध उत्पादन गरी मासिक रु चार लाखको दूध बिक्री गर्ने गरेको बाँस्तोलाले बताए । 

गाउँकै बेलबास दुग्ध उत्पादक सहकारीमा दूध बिक्री गरेर खर्च कटाएर मासिक रु दुई लाख बचत हुने गरेको उनले बताए । बाँस्तोलाले भने, ‘उत्पादनमा आधारित अनुदानअन्तर्गत पुरस्कार पाएपछि पेशाप्रति गौरव महशुस भएको छ ।’ यातायात व्यवसायभन्दा गाईपालनबाट सन्तुष्टी मिलेको बाँस्तोलाको भनाइ छ । बेलबास दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष केशवबहादुर रानाले उनी गाउँमा सबैभन्दा धेरै दूध उत्पादन गर्ने किसान भएको बताए । 

गाईको साथै बाँस्तोलाले बाख्रापालनबाट पनि आम्दानी गर्दै आएका छन् । उनले ५० वटा बोयर बाख्रा पालेका छन् । गाई र बाख्रा दुवै थप गरेर हालको आम्दानीलाई दोब्बर पार्ने सोच बनाएको बाँस्तोलाले बताए । सरकारलाई अनुदान दिने प्रक्रिया बदल्नु जरुरी रहेको किसान बाँस्तोलाको सुझाव छ । व्यवसाय गरेको कागज बनाउने, अनुदान लिने र अनुदान पाएपछि पेशा छाड्ने गरेकाले अनुदानको दुरुपयोग भएको बाँस्तोलाको गुनासो छ । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७