दुुई वर्षदेखि तलब नपाएको भन्दै खाँडाचक्रका कर्मचारीले गरे तालाबन्दी

कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिकामा कर्मचारीले तालाबन्दी गरेका छन् । झण्डै दुुई वर्षदेखि तलब नपाएको भन्दै करार र ज्यालादारीमा कार्यरत कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन्। नगरपालिकाका १२१ जना करारका कर्मचारीले मूलगेटमा तालाबन्दी गरेपछि कार्यालयको सबै काम ठप्प छ।
१२६ करार कर्मचारीमध्ये १२१ जनाले तलब नपाएको गुनासो गरेका छन् । वडा नम्बर ३ का कर्मचारी खिम पाण्डेले ५ जनालाई मात्र तलब दिइँदै आएको जानकारी दिए । उनका अनुसार २१ महिनादेखि तलब दिइएको छैन । उनका अनुसार तलब नपाउने कर्मचारीहरूमा २१ जना वनका छन् । पाण्डेले भने, ‘पटक–पटक ध्यानाकर्षण गराउँदा पनि नगरपालिकाले चासो दिएन । एकले अर्कोलाई दोष देखाउने मात्र भएपछि बाध्य भएर ताला लगाएका हौं ।’
तलब नपाएको भन्दै नगरपालिका र वडा कार्यालयमा कार्यरत कार्यालय सहायक, सामाजिक परिचालक, पशु प्राविधिक आन्दोलनमा उत्रिएका हुन् । नगरपालिकाको कार्यालयमा तालाबन्दी भएपछि कार्यालय भित्र निमित्त प्रमुख प्रशासकीय अधिकृत देवकिरण बुढा लगायत केही कर्मचारी समेत थुनिएका छन् । सर्वसाधारणको कामकाज नै ठप्प भएको छ । नगरपालिकामा काम लिएर पुगेका सेवाग्राहीहरू भने निराश भएका छन् । आन्दोलन गर्नु रहर नभई बाध्यता भएको करार कर्मचारीले बताएका छन् ।