‘बेलुन पड्किँदा न्यायिक छानबिन समिति बनाउने सरकार तीनकुने घटनामा मौन छ’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा सांसद ज्ञानबहादुर शाहीले तीनकुने घटनामा सरकारले मानवअधिकारको उल्लंघन गरेको पुष्टि भएको भन्दै न्यायिक छानबिन समिति गठनको माग गरेका छन् ।
प्रतिनिधि सभाको आज (सोमबार) को बैठकमा बोल्दै सांसद शाहीले ४० दिनदेखि रवीन्द्र मिश्रसहितका व्यक्तिहरू थुनामा रहेको भन्दै राज्यले अत्यधिक दमन गरिरहेको आरोप लगाए । उनले पोखरामा बेलुन पड्किँदा न्यायिक छानबिन समिति बनाउने सरकारले सविन महर्जन गोली हानेर मारिँदा समेत मौन बसेको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘सरकारले राज्य आतंक अत्यधिक ज्यादा गरेको छ । ४० दिनदेखि रवीन्द्र मिश्र लगायतका साथीहरू आज पनि थुनामा छन् । तीनकुनेमा भएको घटनामा विभिन्न मानव अधिकारसम्बन्धी संघ संगठनहरुले राज्यले मानव अधिकारको गम्भीर र ठाडो उल्लंघन गरेको भनेर पुष्टि समेत गरिसकेको छ । तर राज्य थुनिराखेको छ । राज्यलाई म सोध्न चाहन्छु, पोखरामा बेलुन पड्किँदासम्म तिमीहरू न्यायिक छानबिन समिति बनाउनेले दिनदहाडै सविन महर्जनलाई टाउकोमा गोली हानेर हत्या गर्नेलाई किन न्यायिक छानबिन समिति बनाउँदैन ? न्यायिक छानबिन समिति आवश्यक छ ।’ उनले थुनामा रहेका राप्रपा नेताहरूलाई तत्काल छोड्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।