जनताको आक्रोश गणतन्त्रप्रति होइन, अहिले सरकारको नेतृत्वप्रति हो : प्रचण्ड
‘गणतन्त्रवादी एक ठाउँमा आउना साथ राजावादीहरूको केही रहने छैन’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले शिक्षा क्षेत्रमा आवश्यक बजेट अझै विनियोजन गर्न नसकेको बताएका छन्।
नुवाकोटको सूर्यगढी गाउँपालिका– ३ स्थित वागेश्वरी माध्यमिक विद्यालयको हीरक जयन्तीलाई सम्बोधन गर्दै उनले अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा जोडबल गरेकै कारणले शिक्षा विधेयक संसदमा पेश भएको बताए। उनले शिक्षकहरूसँग भएको सहमतिअनुसार नै शिक्षा विधेयक पारित गर्नुपर्ने बताए। सरकारको नेतृत्वमा भएकाहरूले जनताको भावनालाई बुझेर काम नगर्दा जनतामा आक्रोश देखिएको उनको भनाइ छ ।
प्रचण्डले भने, ‘जनतामा देखिएको असन्तुष्टि र आक्रोश गणतन्त्रप्रति होइन । कतिपय नेताहरूले भ्रष्टाचारीको संरक्षण, विभेद गर्नेलाई संरक्षण गर्न खोजेको देख्दा जनता वाक्क छन् । आर्थिक समृद्धि जनअपेक्षाअनुसार हुन सकेको छैन, तर जनतामा देखिएको आक्रोश गणतन्त्रप्रति होइन, नेता र नेतृत्वहरूको कारणले हो ।’
उनले नेपाली जनता पछि हटेर फेरि वंशवादी, नेपाललाई गरिब देश बनाउने, हत्या र बलात्कार गर्नेहरूले फेरि आएर देश बनाउँछन् भन्ने कुरामा कुनै सत्यता नभएको दाबी गरेका छन्। उनले शान्ति सम्झौता र गणतन्त्रका पक्षधर एक ठाउँमा आएर खबरदारी गर्ने बित्तिकै राजावादीहरूको केही नरहने बताए। प्रचण्डले गणतन्त्रवादी नेताहरूको कारणले प्रश्न उठेको भए पनि राजावादीहरूबाट कुनै खतरा नभएको दाबी गरे।