ज्ञानेन्द्र शाह राजावादी आन्दोलनका नाइके हुन्, मैदानमा उत्रेर जवाफ दिनुपर्छ : गगन थापा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्व राजा ज्ञानेन्द्र शाह अहिले भइरहेको राजावादी आन्दोलनका नाइके भएको बताएका छन् । उनले पर्दाभित्रबाट खेल्ने छुट नभएको पनि बताएका छन । आज (शनिबार) ‘गणतन्त्र नै सही बाटो’ विषयक संवाद कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो टिप्पणी गरेका हुन्।
‘नेपालका राजतन्त्रको लिडर ज्ञानेन्द्र शाह म चाहिँ नेपालमा राजतन्त्र ल्याउँछु भनेर लडिसकेपछि यो चकचक गरेर हुँदैन अब सिधा आउनु पर्यो,’ महामन्त्री थापाले भने, ‘मैदानमा आउनु पर्यो र जवाफ दिनुपर्यो । अहिलेका समस्याको समाधान के हो ?’ उनले तीन–चार महिनामा एउटा वक्तव्य निकालेर मान्छेलाई भ्रममा पार्न नहुने पनि बताए । ‘हिजो राजा हुँदा त्यो सुविधा थियो होला । आज आन्दोलनकारीलाई त्यो सुविधा छैन। सडकमा आएर त्यसको उत्तर दिनुपर्छ,’ महामन्त्री थापाले भने ।
लोकतन्त्रमा जनतासँग आफ्ना कुरा प्रष्ट भन्नुपर्ने र तत्काल देखिएका समस्याको समाधानमा पनि भन्न सक्नुपर्ने उनले बताए। उनले भने, ‘हामी चाहिँ यहाँ प्रतिष्पर्धा गर्नुपर्ने, प्रश्नको सामना गर्नुपर्ने। अनि म नेपालमा राजतन्त्र ल्याउँछु भन्नेको नाइके चाहिँ यी कुनै पनि प्रश्नको सामना गर्नु नपर्ने ? आम नागरिकले पनि प्रश्न गर्न नपाउनु पर्ने ? नेपालको मिडियाले पनि प्रश्न गर्नु पाउनु नपर्ने ?’