कांग्रेसमा देउवा भन्दा राम्रो प्रधानमन्त्री चलाउने मान्छे छन् : गगन थापा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कहिले पनि नेपालको राजसंस्थालाई संवैधानिक बनाउन नसकिने टिप्पणी गरेका छन् । आज (शनिबार) ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘नेपाली कांग्रेस राजावादी भयो, तर नेपालको राजसंस्था कहिल्यै पनि राजावादी भएन । नेपालको राजसंस्था राजतन्त्रवादी भयो’, उनले भने, ‘नेपालको राजसंस्था राजतन्त्रवादी भएकाले नेपालको राजसंस्थालाई न हिजो न भोलि, कसैले पनि नेपालको राजसंस्थालाई संवैधानिक बनाउनै सक्दैन ।’
संवैधानिक राजसंस्था कि गणतन्त्र छान्ने भन्नेमा बहस गर्न नहुनेमा उनले जोड दिए । उनले हालको बहस नेपालमा राजतन्त्र कि गणतन्त्र रहन्छ भन्नेमा हुनुपर्ने बताए । ‘हाम्रो डिबेड संवैधानिक राजसंस्था-राजतन्त्र छान्ने कि गणतन्त्र छान्ने भन्नेमा हुँदै हुँदैन’, उनले भने, ‘हाम्रो डिबेड नेपालमा कि राजा रहन्छ, राजसंस्था रहन्छ कि गणतन्त्र रहन्छ, कुन छान्ने भन्ने हो ।’
राजतन्त्र पुनर्स्थापनाका निम्ति पूर्वराजा ज्ञानेन्द्र शाहलाई मैदानमा उत्रन उनले चुनौती दिए । ‘नेपालको राजा-राजतन्त्रको लिडर ज्ञानेन्द्र शाह म नेपालमा राजतन्त्र ल्याउँछु भनेर लडिसकेपछि यो सट्टापट्टाको बार्गेनिङको कुरा नगरौँ अब । सिधा आउनुपर्छ, मैदानमा आउनु पर्छ’, उनले भने । राजतन्त्र आएपछि हुन्छ के भन्ने प्रश्नको जवाफ चाहिने उनको भनाइ थियो। उनले भने, ‘हामीले प्रश्न गर्नुपर्यो नि ! प्रश्नको जवाफ चाहियो । राजतन्त्र आयो ल, गर्ने के ? त्यसपछि के भयो ? योजना के हुन् ?’
महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवाभन्दा राम्रो प्रधानमन्त्री हुन सक्ने व्यक्ति कांग्रेसमा दर्जनौं रहेका बताएका छन् । ‘अबको १२-१५ महिनापछि उहाँ (शेरबहादुर देउवा) प्रधानमन्त्री हुने भन्ने छ’, थापाले भने, ‘म के विश्वास गर्दछु भने उहाँभन्दा मेरो पार्टीभित्र अरू दर्जनौं मान्छेले राम्रो प्रधानमन्त्री चलाउँछ ।’