समृद्धि, स्थायित्व र राष्ट्रिय एकताका लागि एमाले पहिलो शक्ति बन्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको समृद्धि, स्थायित्व र राष्ट्रिय एकताका लागि एमालेलाई पहिलो शक्ति बनाउन आवश्यक रहेको बताएका छन् । नागरिकलाई उज्यालो भविष्यको आशा देखाएर मात्र वर्तमान समस्यासँग लड्न प्रेरित गर्न सकिने उनले बताए । नागरिकलाई उज्याले भविष्यको सपना देखाउने पार्टी एमाले नै भएको उनको दाबी छ ।
आज (शनिबार) चितवनमा आयोजित नेकपा एमाले जिल्ला कमिटीको एघारौं जिल्ला अधिवेशन अन्तर्गत प्रथम प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै पोखरेलले विचारको शक्तिबाट नै समाज र राष्ट्र निर्माण सम्भव हुने धारणा राखे । पोखरेलले आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउँदै मिसन २०८४ सफल पार्न जनतासँग निरन्तर संवाद र सम्पर्क अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।
एमालेलाई निर्णायक शक्ति बनाउने हो भने जनताका बीचमा गएर संवाद गरेर अघि बढ्नै पर्ने पोखरेलको भनाइ छ । ‘जब हामीले सही विचारलाई समाजमा स्थापित गर्न छाड्छौं, तब अराजकता मौलाउँछ, जबसम्म गलत विचारहरूले पोल्दैन, तबसम्म समाज परिवर्तन सम्भव हुँदैन’, उनले भने । महासचिव पोखरेलले एमालेभित्र अहिले कुनै समस्या नरहेको स्पष्ट पारे । ‘पार्टी विचार, दृष्टिकोण र गन्तव्यमा एकमत छ’, उनले भने।
वर्तमान अवस्थामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व सशक्त र स्पष्ट रहेको उनको भनाइ छ । हालै सरकारले ल्याएको बजेट पनि एमाले नेतृत्वमै आएको बताउँदै उनले राष्ट्रको ढुकुटी कमजोर भएका कारण अपेक्षाअनुसारको बजेट तथा कार्यक्रम ल्याउन कठिन भएको स्वीकारे ।
उनले विगतमा एमालेको नेतृत्वमा अर्थतन्त्रले सकारात्मक गति लिएको स्मरण गराउँदै वर्तमानमा पनि विस्तारै अर्थतन्त्रमा सुधार देखिन थालेको उल्लेख गरे । ‘एमालेले नेतृत्व लिएको बेला सधैँ अर्थतन्त्रको विकास भएको छ, अहिले पनि अर्थतन्त्रमा विस्तारै सुधारको संकेत देखिन लागेको छ’, उनले भने । पोखरेलले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रत्यक्ष संलग्नता रहेको यथार्थलाई बिर्सिएर एमालेमाथि अनावश्यक आरोप लगाउनु गलत भएको बताए ।
‘एक मात्र होइन, धेरै सहकारीहरूबाट पैसा ठगिएको छ, टेलिभिजन छाडिसकेको अवस्थामा पनि उहाँले आफ्नी श्रीमती र ससुराको नाममा चेक काटेको देखिएको छ’, पोखरेलले भने । पोखरेलले नेपालमा दलहरूले जम्मा १५ वर्ष शासन गर्न पाएको र बाँकी सारा समय राजतन्त्रको शासन रहेको स्मरण गरे। उनले लोकतन्त्रपछिको विकास नदेख्नेहरूलाई चटकेहरूको संज्ञा दिँदै यस्ता भ्रममा पर्नु नहुने बताए।