माधव नेपालको मुद्दाबारे ओली : अख्तियार काम गर्ने संस्था हो, प्रयोग हुने होइन
‘ऋण गरेर घिउ पिउने काम कसैले गर्नु हुँदैन’

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग हुने संस्था नभई काम गर्ने संस्था भएको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीको जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव नेपाललाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।
मोरङको कटहरी गाउँपालिका– २ हल्दीबारीमा २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनको उद्घाटनपछि बाहिरिने क्रममा उनले अख्तियार प्रयोग हुने संस्था नभएको बताएका हुन् । माधव नेपालमाथि प्रतिशोध साँध्न अख्तियारलाई प्रयोग गरिएको हो ? भन्ने पत्रकारको प्रश्नमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘अख्तियार प्रयोग हुने होइन, काम गर्ने संस्था हो ।’
‘ऋण गरेर घिउ पिउने काम कसैले गर्नु हुँदैन’
प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधि काम गर्ने खालको हुनुपर्ने बताएका छन् । उनले जनप्रतिनिधिहरु सिर्जनशील हुनुपर्ने र काम गर्ने नेता हुनुपर्ने बताएका छन् । दलका धेरै उम्मेदवारहरूको बीचमा स्वतन्त्र निर्वाचित भएका योगेन्द्र मण्डलको प्रशंसा गरे । ‘तपाईहरुले ठिक उम्मेदवार जिताउनु भयो ?’, ओलीले भने, ‘जनप्रतिनिधिहरू सिर्जनशील हुनुपर्छ, त्यो काम योगेन्द्र मण्डलजीले गर्नु भएको छ ।’
मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले धेरै क्षेत्रमा सिर्जनशील भएर काम गरेकोप्रति प्रशंसा गरेका ओलीले भने, ‘जनप्रतिनिधि यस्तै सिर्जनशील हुनुपर्दछ, कामको नेता हुनु पर्दछ कुराको नेता होइन ।’ जीवन विकास सामुदायिक अस्पतालले अनुहार हेरेर, पैसा हेरेर, हैसियत हेरेर, नभई बिमारी हेरेर, बिमारको रोगको औचित्य हेरेर रोगको लागि गर्नुपर्ने उपचारको आवश्यकतामा उपचार गर्ने कुरालाई उच्च प्राथमिकतामा राखेर अस्पताल अगाडि बढाउने योजनाको उनले प्रशंसा गरे । यो असाध्यै महत्वपूर्ण भएको समेत प्रधानमन्त्री ओलीको भनाइ छ ।
देशको विकास गर्ने भनेको आफ्ना प्रयासहरु केन्द्रित गरेर, राष्ट्रिय प्रयासहरू केन्द्रित गरेर र सामुदायिक पहलहरुबाट हुने समेत बताएका छन् । प्रधानमन्त्री ओलीले प्रतिफल राम्रो नहुने र तिर्न नसकिने ऋण लिन नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘ऋण गरेर घिउ पिउने, त्यस्तो खालको काम गर्ने होइन । ऋण लिएर उत्पादन वृद्धिका काममा लगाउने त्यसको प्रतिफलबाट ऋण तिर्ने र आफू सम्पन्न तिर जाने बाटो हामीले लिनु पर्दछ ।’