कांग्रेस प्रवक्ता महतको खुलासा : गभर्नरको विषयले गठबन्धन नै टुट्नेवाला थियो

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्र बैंकका गभर्नर प्रकरणमा सभापति शेरबहादुर देउवाले अडान नलिएको भए सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगिसकेको खुलासा गरेका छन् ।
उनले गठबन्धनमा सबै कुरामा सम्झौता नहुने र गभर्नरको विषयमा ‘खतराको घण्टी’ बजिसकेपछि मात्रै परिस्थिति सम्हालिएको बताए । आज (शनिबार) अर्घाखाँची–रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै प्रवक्ता महतले गठबन्धनको आन्तरिक अवस्थाबारे उक्त खुलासा गरेका हुन् ।
‘गठबन्धनको बाध्यताले कतिपय कुरामा चित्त नबुझे पनि स्वीकार्नु पर्छ’, उनले भने, ‘तर राष्ट्र बैंकको गभर्नरको कुरामा त सभापतिले भन्नुभयो नि, ‘यो कुरा मिलेन भने (गठबन्धन) मिल्दैन ।’ उनले सभापतिको उक्त दृढतापछि मात्रै लामो समयदेखि अल्झिएको विषय टुंगोमा पुगेको बताए । प्रवक्ता डा. प्रकाशशरण महतले २०८४ को चुनावमा पनि कुनै पार्टीको एकल बहुमत नआउने दाबी गरेका छन् । उनले निर्वाचन प्रणालीको कारणले चुनावपछि सरकार बनाउन कसै न कसैसँग मिल्नुपर्ने बाध्यता रहेको बताए ।
उनले भने, ‘हामीले व्यक्तिवादी हुन छाडेर बलियो हुने कोशिस गरौं । खासगरी आगामी चुनावमा कम्युनिष्ट कम्युनिष्ट नमिलून्, त्यो सुनिश्चित गरेर एक्लाएक्लै चुनाव लडौं, हामीले अहिले लक्ष्य राखेको पनि त्यही हो । अहिले सात बुँदे सहमति पनि एमालेसँग त्यहीअनुसार भएको छ, एमाले प्रतिस्पर्धी पार्टी हो । उहाँहरूको जस्तो सञ्जाल हाम्रो छैन ।’