कोशी प्रदेश सरकारको पहिरो पीडितको घर पुनर्निर्माण गरिदिने
काठमाडौँ : कोशी प्रदेश सरकारले बाढी र पहिरोका कारण भत्किएका र बगाएका घरहरूको पुनर्निर्माण गर्ने निर्णय गरेको छ।
प्रदेश विपद् व्यवस्थापन परिषद्को बुधबारको बैठकले सबै प्रभावित परिवारका घर पुनर्निर्माण गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले इलाम, झापा र मोरङका प्रभावित घरहरूको विस्तृत विवरण संकलन र पुनर्निर्माण कार्यलाई सँगसँगै अघि बढाउने निर्णय गरेको छ ।
मुख्यमन्त्री कार्कीले तीव्र गतिमा पुनर्निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । साथै, सो कार्यमा नागरिक, व्यवसायी, राजनीतिक दल, बैंक तथा वित्तीय संस्थाहरूको सहकार्यको आवश्यकता औंल्याएका छन्।
इलाम जिल्लाका सातवटा पालिकालाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय भएको छ। राहत र पुनस्र्थापनाका लागि आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीलाई इलाममा समन्वय जिम्मा दिइएको छ। सो टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी पुनर्निर्माण कार्यलाई तीव्रता दिनेछ।
सुनसरी जिल्लाको समन्वय कार्य वन, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र मन्त्री भण्डारीले संयुक्त रूपमा गर्नेछन्। झापा जिल्लाका पुनर्निर्माण तथा समन्वयको जिम्मेवारी खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई तोकिएको छ।
बैठकले चालु बजेटका खर्च र योजनाहरू पुनरावलोकन गरी आवश्यक परेमा कटौती गरेर पुनर्निर्माणमा विनियोजन गर्ने सिफारिस पनि गरेको छ। साथै, भौतिक पूर्वाधार मन्त्रालयलाई अवरुद्ध सडकहरू तत्काल खोल्नका लागि सबै संयन्त्र परिचालन गर्न निर्देशन दिइएको छ।
मुख्यमन्त्री कार्कीले राहत र पुनर्निर्माण कार्यमा कुनै कसर नराखी तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्। उनले विपद् व्यवस्थापनमा प्रदेशका नागरिक, उद्योगी–व्यवसायी, राजनीतिक दल, बैंक तथा वित्तीय संस्था र कर्मचारी सबैलाई सहकार्यका लागि आह्वान गर्नेसमेत निर्णय भएको जानकारी दिए ।
.gif)

.png)

