जेनजी आन्दोलनमा बैंक लुटेर रातो रङ्गको बुलेट बाइक खरिद
काठमाडौँ : जेनजी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा भएको लुटपाटमा संलग्न एक अभियुक्तले चोरेको रकमले बुलेट मोटरसाइकल खरिद गरेको खुलेको छ ।
दोलखा जिल्ला स्थायी घर भएका २७ वर्षीय दीपक श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गर्दा उनले बैंकबाट लुटेको रकम प्रयोग गरी रातो रंगको बुलेट मोटरसाइकल किनेको स्वीकारेका प्रहरीले जनाएको छ ।
श्रेष्ठले आफूले बैंकबाट २ लाख ५० हजार रुपैयाँ लिएको र त्यसमा १ लाख ७२ हजार थप गरी ४ लाख २२ हजारमा मोटरसाइकल खरिद गरेको प्रहरीसमक्ष बयान दिएका हुन् ।
श्रेष्ठले लुटपाटको क्रममा नगद रकमसहित ३ थान सुनका बाला, १ थान बेरुवा औँठी र गणेशको लकेटसहितको सिक्रीसमेत लगेको स्वीकारेका छन् । श्रेष्ठसँगै एक नाबालक पनि लुटपाटमा संलग्न रहेको खुलेपछि दुवै जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।
उक्त बैंक शाखाबाट कूल ३८ करोड ४० लाख रुपैयाँ बराबरको लुटपाट भएको जनाइएको छ । लुटिएको सम्पत्तिमा १७ हजार ९४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद रहेको प्रहरीले जनाएको छ ।
.gif)

.png)

