नेपाली र भारतीय सेनाबीचको संयुक्त अभ्यास सम्पन्न
काठमाडौँ : नेपाली सेना र भारतीय सेनाको सहभागितामा भारतको पिथौरागढमा आयोजना गरिएको संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’ को १९औँ संस्करण सम्पन्न भएको छ। मङ्सिर ९ गतेदेखि सुरु भएको यो अभ्यास मङ्सिर २२ गते सम्पन्न भएको हो ।
यस संस्करणमा विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतङ्कवाद, जङ्गल युद्धकला र मानवीय सहयोग जस्ता विषयहरू समावेश गरिएको नेपाली सेनाले जनाएको छ। अभ्यासको निरीक्षणका क्रममा नेपाली सेनाको तर्फबाट उपरथी अनुपजङ्ग थापाले नेतृत्व गरेको अब्जर्भर डेलिगेसन सहभागी भएको थियो।
‘सूर्य किरण’ अभ्यास २०६७ सालदेखि नेपाल र भारतमा आलोपालो गर्दै सञ्चालन हुँदै आएको छ। नेपाली सेनाले क्षमता अभिवृद्धिका लागि संयुक्त राज्य अमेरिका, बेलायत, चीन, पाकिस्तान, भारतलगायतका मित्रराष्ट्रहरूको सेनासँग विभिन्न द्विपक्षीय तथा बहुपक्षीय अभ्यास र पेसागत प्रतियोगितामा निरन्तर सहभागिता जनाउँदै आएको छ।
नेपाली सेनाका अनुसार यस्ता संयुक्त अभ्यासहरूले मित्रराष्ट्रबीचको मैत्रीपूर्ण सम्बन्ध अझ मजबुत बनाउने तथा सकल दर्जामा पेसागत सिप र आपसी समझदारी बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
.gif)

.png)

