नेपाली सेनालाई १३ अर्ब बराबरको ६ वटा हेलिकोप्टर दिने अमेरिकी प्रस्ताव
काठमाडौँ : संयुक्त राज्य अमेरिकाले नेपाली सेनाको हवाई क्षमता र विपद् व्यवस्थापन कार्यलाई सुदृढ तुल्याउन ६ वटा हेलिकोप्टर उपलब्ध गराउने नयाँ प्रस्ताव अघि सारेको छ। अमेरिकी सरकारको 'फरेन मिलिटरी फाइनान्सिङ' अनुदान कार्यक्रमअन्तर्गत करिब १०० मिलियन अमेरिकी डलर (झन्डै १३ अर्ब नेपाली रुपैयाँ) बराबरको यो सहयोग प्याकेज प्रस्ताव गरिएको हो।
उक्त प्रस्तावका सम्बन्धमा अहिले दुवै देशका परराष्ट्र मन्त्रालयका अधिकारीहरू र नेपाली सेनाबीच आन्तरिक छलफल र परामर्श भइरहेको छ। सैनिक स्रोतका अनुसार, काठमाडौँस्थित अमेरिकी दूतावासले यसबारे छिटो निर्णय दिन आग्रह गरिरहेको भए पनि सेनाले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।
सैनिक स्रोतका अनुसार काठमाण्डुस्थित अमेरिकी दूतावासले यसबारे छिटो निर्णय दिन सेनाका अधिकारीहरूलाई आग्रह गरिरहेको छ। यसअघि प्राप्त भएका हवाई साधनहरूको मर्मतसम्भार र इन्धन खर्च महँगो पर्ने देखिएपछि सेनाले यो नयाँ प्रस्तावमा गम्भीरतापूर्वक छलफल गरिरहेको छ। हेलिकोप्टर सञ्चालनका लागि आवश्यक पर्ने हवाई इन्धन, प्राविधिक तालिम र दीर्घकालीन मर्मतसम्भारको वित्तीय भार नेपाली सेनाको नियमित बजेटले धान्न सक्ने वा नसक्ने विषयमा प्राविधिक परामर्श भइरहेको बताइएको छ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले सन् २०८१ मा १०० मिलियन डलरको एफएमएफ अनुदानसम्बन्धी सम्झौता भएको जानकारी भए पनि थप ६ वटा हेलिकोप्टरको विस्तृत विवरणबारे आफूलाई औपचारिक जानकारी नभएको बताएका छन्।
नेपाल र अमेरिकाबीच सात दशकभन्दा लामो सैन्य कूटनीतिक सम्बन्ध रहेको छ। पछिल्लो समय अमेरिकाले नेपाली सेनालाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ। यसअघि नै २ वटा हेलिकोप्टर सहयोग गर्ने सम्झौता भइसकेको छ, जुन आगामी वर्ष नेपाल आइपुग्ने अपेक्षा गरिएको छ। त्यस्तै, सन् २०२४ सेप्टेम्बर ४ मा अमेरिकाले दुई वटा एम–२८ स्काइ ट्रक विमान नेपाली सेनालाई हस्तान्तरण गरेको थियो।
अमेरिकाले खोज, उद्धार र मानवीय सहायताका लागि आवश्यक पर्ने फिल्ड हस्पिटल, एम्बुलेन्स र अन्य प्राविधिक उपकरणहरू उपलब्ध गराउँदै आएको छ। साथै, विश्वभरका द्वन्द्वग्रस्त मुलुकमा खटिने नेपाली शान्ति सैनिकहरूको व्यावसायिक दक्षता अभिवृद्धिका लागि पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको पूर्वाधार विकासमा पनि अमेरिकाको महत्वपूर्ण योगदान रहँदै आएको छ।
हाल प्रस्तावित ६ वटा हेलिकोप्टरले नेपालको जटिल भौगोलिक अवस्थामा हुने उद्धार र राहत कार्यमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। यद्यपि, सञ्चालन खर्च र प्राविधिक पक्षबारे सेनाको ठोस निर्णय नआउँदा प्रक्रिया केही समय लम्बिने देखिएको छ।
.gif)

.png)

