हराएको ५५ वर्षपछि पुनर्मिलन, माया मारेका छोरा घर फर्किँदा खुसीको आँशु


२०८२ माघ २० मंगलबार १९:४७ बजे

म्याग्दी, २० माघ : समयले बिर्सिएको ठानेको एउटा कथा ५५ वर्षपछि फेरि जीवित बनेको छ । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङका धनबहादुर तुलाचन, जो एक्काइस वर्षको उमेरमा ‘लाहुरे’ हुने सपना बोकेर घर छोडेपछि कहिल्यै नफर्किने ठानिएका थिए, आधा शताब्दीभन्दा बढी समयपछि आफ्नै घरपरिवारको सम्पर्कमा आउनुभएको छ ।

घरबाट निस्कँदा परिवारले कहिल्यै सोचेन—यो बिछोड ५५ वर्ष लामो हुनेछ । वर्षौंदेखि खोजी गर्दा पनि कतै अत्तोपत्तो नलागेपछि परिवारले उनलाई जिउँदो भेट्ने आश नै मारेको थियो । तर, बुढेसकालमा आफ्नै दाजु–भाइलाई खोज्दै धनबहादुर घरको ढोका ढकढक्याउँदा त्यो क्षण परिवारका लागि सपनाजस्तै बन्यो ।

भारतको हिमाञ्चल प्रदेशस्थित कुल्ली–मनाली क्षेत्रमा स्याउ बगैँचामा काम गर्दै आएका धनबहादुर एकसाता अघि विभिन्न माध्यमबाट परिवारको सम्पर्कमा आउनुभएको हो । साहिला दाइ कृष्णप्रसाद तुलाचन भावुक हुँदै भन्छन्,'लाहुरे हुन्छु भनेर गएको भाइ कहिल्यै फर्किन्छ भन्ने आश हामीले धेरै पहिल्यै मारेका थियौँ । तर बूढेसकालमा हामीलाई खोज्दै घर फर्किँदा त यो सपना हो कि यथार्थ, छुट्याउनै सकिन ।'

वर्षौँसम्म प्रतीक्षा, पीडा र मौनतामा बितेको परिवारको जीवन धनबहादुर घर फर्किएसँगै खुसीले भरिएको छ । कतै नभेटिएपछि माया मारिसकेको परिवारमा अहिले आँसु, हर्ष र राहत एकैसाथ मिसिएको छ ।

धनबहादुरलाई आवश्यक कागजात र नागरिकता प्रक्रियाका लागि दाइ कृष्णप्रसाद सदरमुकाम बेनी ल्याउनुभएको छ । आफ्नो पीडाको कथा सुनाउँदै धनबहादुर भन्छन्, 'मल्कबाङबाट ठाडाखानी हुँदै बेनी आएँ, पैदल र सवारी साधन चढ्दै भारत पुगेँ । त्यहाँ एउटा खुट्टामा गम्भीर चोट लागेपछि लामो समय थला परेँ । घर फर्किने अवस्था नै बनेन ।' 

जीवनले छुट्याएको परिवारलाई समयले फेरि जोडिदिएको यो पुनर्मिलन अहिले म्याग्दीमा मानवीय संवेदना र आशाको कथा बनेको छ—जहाँ ५५ वर्षको बिछोड अन्ततः मायामा आएर टुंगिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७