५८ वर्षपछि घर फर्किए यामबहादुर, परिवारसँग भयो भावुक पुनर्मिलन
म्याग्दी : रोजगारीका लागि २० वर्षको उमेरमा भारतको मणिपुर पुगेका र परिवारसँग सम्पर्कविहीन भएका यामबहादुर तिलिजा ५८ वर्षपछि जन्मथलो फर्किएका छन्। रघुगङ्गा गाउँपालिका–४ दग्नाम कान्छीगाउँका ८१ वर्षीय तिलिजा शनिबार करिब छ दशकपछि घर फर्किएसँगै परिवारमा भावुक पुनर्मिलन भएको हो।
तिलिजा लामो समयदेखि परिवारको सम्पर्कमा थिएनन्। परिवारले उनी जीवितै छन् भन्ने आशासमेत गुमाइसकेको थियो। उनको तस्बिरसमेत परिवारसँग थिएन। खोजी गर्ने माध्यम नहुँदा घर र मणिपुरमा रहेका तिलिजाबीचको सम्पर्क पूर्ण रूपमा टुटेको थियो।
मणिपुरको जंगलमा भेडाबाख्रा चराउँदै गरेको अवस्थामा नेपालीभाषी सञ्चारकर्मी खेम देवानले तिलिजालाई भेटेपछि उनको घर फर्कने बाटो खुलेको हो। गत साउनमा मणिपुर पुगेका देवानलाई स्थानीय मणि तामाङले जंगलमा दुई जना वृद्ध दयनीय अवस्थामा बसिरहेको जानकारी दिएका थिए।
त्यसपछि देवानले तिलिजासहित भोजपुरका वीरबहादुर राईको अवस्थाबारे श्रव्यदृश्य सामग्री बनाएर सार्वजनिक गरेका थिए। सामग्री सार्वजनिक भएपछि परिवारजनले उनीहरूको पहिचान गरी सम्पर्क गरेका थिए। राईलाई परिवारको जिम्मा लगाएपछि तिलिजालाई उपचार गराएर देवानले नेपाल ल्याई घरसम्म पुर्याएका हुन्।
निमोनियाबाट बिरामी तिलिजालाई देवानले धरानस्थित विजयपुर अस्पतालमा चार दिन भर्ना गरी उपचारसमेत गराएका थिए। स्वास्थ्यमा सुधार आएपछि परिवारको आग्रहमा उनलाई म्याग्दी ल्याइएको हो। दग्नाम पुगेपछि तिलिजाका तीन भाइ, बुहारी तथा अन्य आफन्तले फूलमाला लगाएर उनको स्वागत गरेका थिए। लामो समयपछि दाजुलाई भेट्न पाएका भाइहरू भावुक बने। ‘एक दिन दाइसँग भेट अवश्य हुनेछ भन्ने लागेको थियो। अहिले भेट्न पाउँदा निकै खुसी लागेको छ,’ तिलिजाका भाइ उदयचन्द्रले भने, ‘दाइको फोटो पनि हामीसँग थिएन। खोजी गर्न नसकेर अलमलमा बसेका थियौँ।’
तिलिजा चार भाइमध्ये जेठा हुन्। उनका माइला भाइको निधन भइसकेको छ भने साइँला उदयचन्द्र, काइँला जगतबहादुर र कान्छा हेमबहादुर दग्नाममै बस्दै आएका छन्। घरबाट निस्किएपछि तिलिजा लामो समय मणिपुरमै बसेका थिए। भारतीय सेनामा भर्ती हुने उद्देश्यले आसाम राइफल्समा कार्यरत आफन्तसँगै उनी मणिपुर पुगेका थिए। सेनामा भर्ती हुन नसकेपछि उनले काठ काट्ने काम सुरु गरेका थिए।
परिवारसँग सम्पर्क टुट्नुको कारणबारे तिलिजाले पढाइलेखाइ नभएका कारण चिठीपत्र पठाउन नसकेको र आर्थिक अभावमा घर फर्किन नसकेको बताए। मणिपुरमै विवाह गरेका तिलिजाकी छोरीको सात महिनामै मृत्यु भएको थियो। त्यसको एक वर्षपछि उनकी श्रीमतीको पनि निधन भयो। त्यसपछि उनी त्यहीँ एक्लै बस्दै आएका थिए।
उमेर बढ्दै गएपछि काठ काट्ने काम गर्न नसक्ने भएपछि तिलिजाले साहुको बाख्रा चराएर जीवन गुजारा गर्दै आएका थिए। ‘परिवारसँग भेट्न पाएँ। जन्मथलोमा फर्किन पाउँदा खुसी लागेको छ,’ तिलिजाले भने, ‘बाँकी जीवन भाइ, परिवार र आफन्तजनसँग बिताउँछु।’ रघुगङ्गा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाले ५८ वर्षपछि तिलिजा परिवारमा फर्किएसँगै दग्नामको एउटा परिवारले लामो समयदेखि हराएको सदस्य पुनः पाएको बताए।
.gif)

.png)

