एमाले सचिव शेरधन राईलाई पराजित गर्दै ‘माटो’ का ध्रुवराज विजयी


२०८२ फाल्गुण २४ आइतबार १५:४० बजे

भोजपुर: श्रम संस्कृति पार्टीका ध्रुवराज राई भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। नेकपा (एमाले) का सचिव तथा पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै राई निर्वाचित भएका हुन्।

ध्रुवराजले १६ हजार ६ सय ६३ मत प्राप्त गरी विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी शेरधन राईले १४ हजार ७ सय ५० मत प्राप्त गरेका छन्। १ हजार ९ सय १३ मतान्तरसहित उनले विजय हासिल गरेका हुन्।

यसैगरी नेपाली कांग्रेसका बालकृष्ण थापाले ८ हजार ६ सय ७० मत ल्याए। रास्वपाका रमेश ओझाले ६ हजार १ सय २ मत प्राप्त गरे भने नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राई काङमाङ ‘तारा’ले ५ हजार ६ सय २८ मत प्राप्त गरे।

ध्रुवराज राई नेकपा (एमाले) बाट विद्रोह गरेर श्रम संस्कृति पार्टीका उम्मेदवार बनेका थिए। उनी नेकपा (एमाले) का प्रदेश कमिटी सदस्यसमेत रहेका थिए। यसअघि उनी भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्षसमेत भइसकेका छन्।

२०३९ सालमा भोजपुरको नागीमा सामान्य परिवारमा जन्मिएका ध्रुवराज भोजपुर बहुमुखी क्याम्पसमा दुई पटक स्ववियू सभापति भएका थिए। अखिलको केन्द्रीय सचिवालय सदस्यसम्म पुगेका उनी केन्द्रीय उपाध्यक्षमा भने पराजित भएका थिए। उनलाई भोजपुरमा ‘आन्दोलनको छोरा’ भनेर पनि चिनिन्छ।

२०६२र६३ को जनआन्दोलनमा अग्रपंक्तिमा रहेका उनले आर्मी ब्यारेक, प्रहरी र प्रशासन कार्यालयअगाडि खुलेर राजाविरुद्ध नारा र भाषण गर्ने गरेका थिए।

ध्रुवराज नेकपा (एमाले) को ११औँ महाधिवेशनमा भोजपुरबाट प्रतिनिधि बन्ने प्रतिस्पर्धामा थिए। तर उनलाई भोजपुरबाट महाधिवेशन प्रतिनिधि बन्न दिइएन। आफूमाथि अन्याय भएको भन्दै चित्त दुखाएर उनी श्रम संस्कृतिबाट उम्मेदवार बनेका थिए। नेकपा ९एमाले०का कोशी इन्चार्जसमेत रहेका शेरधन राईले आफूलाई महाधिवेशन प्रतिनिधि बन्नबाट रोकेको गुनासो ध्रुवराजको थियो।

ध्रुवराजलाई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद् सदस्य तथा पूर्वमन्त्री सुदन किरातीले सहयोग गर्ने घोषणा गरेका थिए। किरातीको साथले पनि ध्रुवराजको विजय यात्रा सहज बन्यो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७