अमेरिकी राष्ट्रपति ट्रम्प इरानसँगको शान्ति वार्ताका लागि रणनीति तयार गर्दै
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको युद्धमा सहयोगीहरूको साथ नपाएको र घरेलु मोर्चामा पनि घेरिँदै गएपछि, अब उनले यसबाट उम्कनका लागि सम्मानजनक शान्ति मार्ग खोजिरहेका छन्। उनको टोली अहिले इरानसँग सम्भावित शान्ति वार्ता शुरू गर्नका लागि रणनीति बनाउन व्यस्त रहेको अमेरिकी समाचार पोर्टल एक्जिओसले जनाएका छन्।
तीन हप्ताको युद्धपछि ट्रम्प प्रशासनले अर्को चरणका लागि प्रारम्भिक छलफल सुरु गरेको छ। यस बारेमा अमेरिकी अधिकारी र स्रोतहरूको भनाइलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ।
इरानसँगको शान्ति वार्ता कस्तो स्वरूपमा हुन सक्छ भन्ने विषयमा पनि विचारविमर्श भइरहेको छ। एक्जिओसका स्रोतहरूका अनुसार, ट्रम्पका दूत जेरेड कुश्नर र स्टिभ विटकफ सम्भावित कूटनीतिका बारेमा छलफलमा सहभागी छन्।
हालका दिनहरूमा अमेरिका र इरानबीच कुनै प्रत्यक्ष सम्पर्क भएको छैन, तर इजिप्ट, कतार र बेलायतले दुई देशबीच सन्देश आदानप्रदानमा मध्यस्थता गरेका छन्।
इरानले कुराकानीमा चासो देखाएको छ, तर केही कडा शर्तहरू अघि सारेको छ। इरानका मागहरूमा युद्धविराम, भविष्यमा इरानमाथि आक्रमण नहुने ग्यारेन्टी र क्षतिपूर्ति समावेश छन्।
यसैगरी, शान्ति वार्ता र युद्धविरामका लागि अमेरिकाले इरानसामु ६ वटा सर्त राखेको छ। यी शर्तहरूमा पाँच वर्षसम्म कुनै पनि मिसाइल कार्यक्रम सुरु नगर्ने, युरेनियमको संवर्धन पूर्ण रूपमा बन्द गर्ने, नतान्ज, इस्फहान र फोर्डो आणविक संयन्त्रहरूलाई पूर्ण रूपमा निष्क्रिय पार्ने लगायतका शर्तहरू छन्।
त्यसैगरी, आणविक हतियार कार्यक्रमलाई अगाडि बढाउन सहायक हुने सेन्ट्रिफ्यूज र सम्बन्धित मेसिनरीको निर्माण र प्रयोगमा कडा बाह्य निगरानी प्रोटोकल पालना गर्ने, क्षेत्रीय देशहरूसँग मिसाइलहरूको संख्या एक हजारभन्दा बढी नहुने गरी शस्त्र नियन्त्रण सन्धि गर्ने र हेजबुल्लाह, हुथी तथा हमास जस्ता प्रोक्सी संगठनहरूलाई कुनै पनि प्रकारको आर्थिक सहायता उपलब्ध नगराउने शर्तहरू पनि समावेश गरिएको छ।
.gif)

.png)


