संसदीय समितिका सभापतिको निर्वाचन : आज मनोनयन दर्ता


२०८३ बैशाख ३ बिहीबार १०:०३ बजे

काठमाडौँ : सङ्घीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज (वैशाख ३) मनोनयन दर्ता हुँदैछ।

सङ्घीय संसद् सचिवालयका अनुसार, मनोनयन पत्र दर्ता आज दिउँसो १ देखि ४ बजेसम्म सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा गरिनेछ। यसका साथै, दिउँसो साढे ४ बजे उम्मेदवारहरूको सूची पनि प्रकाशन गरिने कार्यक्रम तय गरिएको छ।

प्रतिनिधिसभाअन्तर्गत १० र दुई संयुक्त समितिको निर्वाचन प्रक्रिया बाँकी रहेको छ। समितिको सभापतिको निर्वाचन भने शुक्रबार (वैशाख ४) तोकिएको छ। उक्त दिन अपराह्न १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव पेश गर्नेछन्, जुन प्रस्तावमा समर्थकले समर्थन जनाउनेछन् र निर्णयार्थ प्रस्तुत गरिनेछ।

चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहेका सदस्यहरूको नाम निर्धारण गरेको थियो। सभामुख डोलप्रसाद अर्यालले उक्त बैठकमा वैशाख ४ लाई संसदीय समितिका सभापतिको निर्वाचन मिति तोक्ने निर्णय गरेका थिए।

प्रतिनिधिसभाअन्तर्गत रहेका समितिहरूमा कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, पूर्वाधार विकास, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था र सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, पर्यटन र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिहरू रहेका छन्। साथै, संयुक्त समितिका रूपमा संसदीय सुनुवाइ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिहरू कार्यरत छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७