आज सात संसदीय समितिको बैठक बस्दै


२०८३ श्रावण २७ बुधबार ०८:२१ बजे

काठमाडौं :  संघीय संसद्अन्तर्गत आज सातवटा संसदीय समितिका बैठक बस्दैछन्। विभिन्न मन्त्रालय, सरकारी निकाय तथा समसामयिक विषयसँग सम्बन्धित एजेन्डामाथि समितिहरूले छलफल गर्ने कार्यसूची छ।

सार्वजनिक लेखा समितिले गृह मन्त्रालयसँग सम्बन्धित उजुरीमाथि छलफल गर्ने भएको छ। दिउँसो १ बजे बस्ने बैठकमा गृहमन्त्री, गृहसचिव, नेपाल प्रहरीका महानिरीक्षक र सशस्त्र प्रहरी बलका महानिरीक्षकलाई बोलाइएको छ।

अर्थ समितिले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हालसम्मको कामकारबाही, वित्तीय संघीयता कार्यान्वयनमा आयोगको भूमिका तथा देखिएका समस्या र चुनौतीबारे छलफल गर्नेछ। आयोगका सिफारिस कार्यान्वयनको अवस्थाबारे पनि समितिले जानकारी लिनेछ। बिहान ११ बजे बस्ने बैठकमा आयोगका कार्यवाहक अध्यक्ष र सचिवलाई आमन्त्रण गरिएको छ।

उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्नेछ। उक्त बैठकका लागि संसद् सचिवालयले कार्यसूची सार्वजनिक गरेको छैन।

कानुन, न्याय तथा मानव अधिकार समितिले विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीको मानव अधिकार अवस्थाबारे अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदनमाथि छलफल गर्नेछ। साथै, अर्को उपसमिति गठन गर्ने विषय पनि बैठकको एजेन्डामा राखिएको छ। बैठक बिहान १० बजे बस्नेछ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा बालगृह, बाल सुधारगृह, महिला सुरक्षित आवासगृह, वृद्धाश्रमलगायत सामाजिक संस्थाहरूको संस्थागत अवस्था र अनुगमनबाट प्राप्त निष्कर्षमाथि छलफल हुनेछ।

उक्त बैठकमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री र सचिवसहित गृह, कानुन, भूमि व्यवस्था तथा सामान्य प्रशासन, स्वास्थ्य तथा खाद्य स्वच्छता र शिक्षा तथा खेलकुद मन्त्रालयका सचिवलाई बोलाइएको छ। केन्द्रीय बाल न्याय समितिका सचिवलाई समेत बैठकमा आमन्त्रण गरिएको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ। समितिले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल गर्नेछ। बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री र सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक सहभागी हुनेछन्।

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप) का अघिल्ला बैठकहरूमा भएका निर्णय तथा सम्झौता र तिनको कार्यान्वयन अवस्थाबारे छलफल गर्नेछ।

बिहान ११ बजे बस्ने उक्त बैठकमा आगामी कोप–३१ मा नेपालको सहभागिताका लागि भइरहेको तयारीबारे पनि सम्बन्धित सरकारी अधिकारीसँग जानकारी लिइनेछ। बैठकमा कृषि, वन तथा पर्यावरण, अर्थ, पूर्वाधार विकास, परराष्ट्र तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधिलाई बोलाइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७