‘बालेन्द्र शाह स्क्वाड’मा सुधन विकेट पतनको प्रभाव

सुधन यो कोर्षको फिल्ड मार्सल हुन् । रवि–बालेन्द्र मिलनको प्रमुख रसायन, रास्वपाको चुनावी सफलताको जग । बालेन्द्र शाहको प्रधानमन्त्रीको कुर्सीको प्रमुख आधार । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले सुधनलाई त्यसै भनेकी होइनन्, ‘कान्छो छोरा ।’


२०८३ बैशाख ११ शुक्रबार १६:४३ बजे

काठमाडौंमा अन्तर्राष्ट्रिय क्रिकेटको रौनक छ । ९ वैशाखमा माथिल्लो मूलपानी मैदानमा नेपाल ‘ए’ र ओमानको सिनियर टिमबीच अभ्यास खेल चल्दै थियो । ओमानले दिएको २८१ रन को लक्ष्य पछ्याउन नेपाली स्क्वाडका कप्तान अनिल साह र तृतराज दासको ओपनिङ जोडी जवाफी ब्याटिङका लागि मैदानमा थिए । 

विशाल लक्ष्य पूरा गरेर जित निकाल्न ब्याटर मैदानमा टिक्नुपर्थ्यो । आवश्यक रन पनि जोड्नुपर्थ्यो । अनिल र तृतराजले राम्रो सुरुआत गरेका थिए । ठीक त्यहीं समय सिंहदबारमा बालेन्द्र शाह स्क्वाडको एक महत्वपूर्ण विकेट गुम्यो– सुधन गुरुङको । आक्रामक ओपनिङ थियो गृहमन्त्रीको रुपमा सुधनको । सिनियर टिमका थिए, तर ‘ए’ टिमका जस्ता । 

सुधनलाई बालेन्द्र सरकारले मन्त्रीका रुपमा गुमाएको छ । एउटा यस्तो मन्त्री, जो आजको अवस्थाको लागि भएको विद्रोहको प्रमुख कमाण्डर हो । त्यो जेनजी विद्रोह, रास्वपाको उदयले देशले के पाउँछ, के गुमाउँछ, इतिहासले जवाफ दिइहाल्छ । यो कोर्षका कमाण्डर भने सुधन नै हुन् ।

मन्त्री बनेपछि ९ लाख फोलोअर्स बढाएका सुधन सामाजिक सञ्जालमार्फत पक्राउ शृङ्खलाको संख्या हरेक दिन अपडेट गर्थे । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीदेखि चर्चित बिचौलिया दिपक भट्टसम्मको पक्राउमा ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले श्रम मन्त्री दिपक साहको बर्खास्तीपछि बालेन्द्र स्क्वाडको पहिलो विकेट गुमेको टिप्पणी गरेका थिए । 

दोस्रो विकेटको रुपमा को आउट होला ? 
धेरैको अनुमान थियो – सुधन गुरुङको । 

पहिलो कारण, आक्रामक छन्, झोँकी र अधैर्य छन् । सामान्य बाधा आउँदा आफै पद छोड्न सक्छन् । दोस्रो कारण, गृहमन्त्री बनेकोमा उनकै पार्टीका धेरैलाई मन परेको छैन, सुरक्षा प्रशासन र प्रहरीका उच्च अधिकारीलाई स्वीकार्न गाह्रो भएको छ । उनको आक्रमक कामले आन्तरिक र भूराजनीतिमा पर्ने प्रभावले असर गर्नेछ । यी कुनै पनि बहानामा उनी हटाइन सक्छन् । 

जसले सुधनले राजिनामा दिए, सामाजिक सञ्जाल प्रयोगकर्ताले तुरुन्त प्रतिक्रिया जनाइहाले– बालेन्द्रको दोस्रो विकेट पतन । त्यसै दिन मूलपानी मैदानमा एकदिवसीय खेलमा नेपाली खेलाडी पूरा ओभर टिक्न सकेनन् । ठूलो अन्तरले हार व्यहोर्नुपर्यो । 

बालेन्द्र शाहको कप्तानीमा सुधन पाँच वर्षका लागि मैदानमा उत्रिएका थिए । उनी एक महिना पनि मैदानमा टिकेनन्, टिकाइएनन् ।  सुधन दिपक साह जस्तो गरी हटाइएनन्, राजीनामा दिए । उनको राजिनामा पछिका केही प्रतिक्रिया छन्, उच्च नैतिकता देखाए, नदिए बर्खास्तीमा परेर अपमानजनक बहिर्गमन हुन्थ्यो, आरोप सत्य हो भने पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ । हरेक कुरामा समाज जसरी विभाजित हुन्छ, यो विषयमा पनि त्यस्तै विभाजन भयो । 

राजीनामा दिनैपर्ने बाध्यात्मक परिस्थिति आउन सुधनमाथि लागेको अभियोग वा उनले गरेका अपराध ठोस् यहीं हो भन्ने छैन । मिडियामार्फत साझा भएका कुरालाई आधार मान्दा पहिलो उनले देखाएको सम्पत्ति विवरण हो, जसलाई अस्वभाविक मानिएको छ र स्रोत देखाउन दबाब छ । दोस्रो र महत्वपूर्ण सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका लागि थुनामा रहेका चर्चित बिचौलिया दिपक भट्ट प्रमुख साझेदार रहेका लघु बिमा कम्पनीको शेयर खरिद कर्ता । अहिलेको मुख्य आरोप भनेको बिचौलिया दिपक भट्टले गरेको गैरकानुनी कार्यको साझेदार हुनु भन्ने नै हो । 
केही वर्ष पहिले नेपालमा दुईवटा भाष्य प्रचलित थिए । 

पहिलो, प्रदेशसभा भन्दा माथि प्रतिनिधि सभा, प्रतिनिधि सभा भन्दा माथि राष्ट्रिय सभा र राष्ट्रिय सभा भन्दा माथि संखुवासभा । कारण, केपी शर्मा ओली प्रधानमन्त्री थिए । ७ जना संखुवासभामा जन्मिएका सचिव थिए, जसले सरकारको हरेक निर्णयमा प्रभाव राख्थे । निर्णायक भूमिका खेल्थे ।

दोस्रो, जो अर्थमन्त्री भए पनि चलाउने त दिपक भट्टले नै हो । यो भाष्यमात्र होइन, एक सत्य थियो । यसका विरुद्ध आवाज थिए । तर निकै मसिनो । पार्टी जुनसकै होस्, ती अर्थमन्त्रीलाई चलाउने उनै दिपक भट्ट थिए । अर्थमन्त्रालयमा को सचिव लैजाने वा अर्थमन्त्रालयका सचिवलाई के काम लगाउने ? त्यो पनि उनै दिपक भट्टले गर्थे । मन्त्री र सचिवको मनमुटाव मिलाउने पनि उनै थिए ।

उनी शक्तिशाली थिए, सबैको साथ थियो । यसकारण की उनी सबैलाई भाग पुर्‍याउँथे । उनलाई शक्तिशाली बनाउने साझेदार नेपाल सरकारका उच्चपदस्थ थिए, जसले श्रीमतिका नाममा शेयर राख्थे, नेपाल प्रहरीका उच्च अधिकारी थिए, केहीँ मिडिया मालिक थिए, दिपक भट्टका बारेमा बुझ्ने, संगत गर्ने र उनको रक्षाका लागि सबै गर्न सक्ने पत्रकार थिए, जसले आफू र श्रीमतिको नाममा शेयर लिन्थे । नेपालका ठूला घराना थिए, जसले दिपक भट्टको साझेदार र योद्धा भएर पार्टीका नेता, प्रहरीको हाकिम र पत्रकारहरुलाई कोशेली जोहो गर्थे । 

जो अर्थमन्त्री भए पनि चलाउने त दिपक भट्टले नै हो । यो भाष्यमात्र होइन, एक सत्य थियो । यसका विरुद्ध आवाज थिए । तर निकै मसिनो । पार्टी जुनसकै होस्, ती अर्थमन्त्रीलाई चलाउने उनै दिपक भट्ट थिए । अर्थमन्त्रालयमा को सचिव लैजाने वा अर्थमन्त्रालयका सचिवलाई के काम लगाउने ? त्यो पनि उनै दिपक भट्टले गर्थे । मन्त्री र सचिवको मनमुटाव मिलाउने पनि उनै थिए ।

उनै दिपक भट्टको सामिप्यमा सुधन गुरुङ पुगे । दुईवटा लघु बिमा कम्पनीको ५० लाखको शेयर खरिद गरे । अनुसन्धानमा रहेका दिपक भट्टको साझेदार बनेको कारण गृहमन्त्रीबाट राजिनामा नै दिनु पर्‍यो ।  प्रधानमन्त्री बालेन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका सभापति रवि लामिछानेले नै सुधनलाई राजिनामाका लागि बाध्य पारे । सुधन आफै भने पदमै राखेर आफूमाथि अनुसन्धान होस् भन्ने चाहन्थे । प्रधानमन्त्री शाह र रास्वपा सभापति लामीछानेले सुशासनमा शुण्यसहलशीलता देखाए । शक्तिशाली गृहमन्त्रीलाई बहिर्गमनको बाटो देखाए ।

बालेन्द्र र रविले एउटा नजिर बसाए, गम्भीर प्रश्न उठेपछि मन्त्रीहरुले राजिनामा दिनुपर्छ । राजिनामा नदिए बर्खास्त हुन्छ । श्रममन्त्री दिपक साहलाई स्पष्टिकरण समेत नलिएर बर्खास्त गरेका बालेन्द्र र रवि समक्ष सुधनलाई पदमै राख्न नैतिक बल पनि थिएन ।

यो निश्चित छ की अब हरेक मन्त्रीका बारेमा कुनै गम्भीर प्रश्न उठ्यो भने राजिनामा दिनैपर्नेछ । प्रधानमन्त्री बालेन्द्रको हकमा पनि त्यहीं नजिर लागू हुनेछ । बालेन्द्रको मन्त्रिपरिषद्मा सुधन अरु मन्त्री जस्ता होइनन् । उनलाई हटाउन बालेन्द्र र रविलाई सहज भएन होला । उनीहरुको मनमा अझै चैन नहुनुपर्छ । यसबाट पर्ने प्रभावबारे अवश्य सचेत छन् ।

सुधन विगतमा के थिए ? उनले सम्पत्ति कसरी आर्जन गरे ? दिपक भट्टको सामिप्यमा कसरी पुगे ? यो उनले विस्तारै बताउँदै जालान् । या तथ्यहरुले पुष्टि गर्लान् । धेरैले चिनेको गत भदौ २३ र २४ को जेनजी विद्रोहमा पानी बाँड्ने सुधन हो । त्यसपछिको सुधन हो ।  भदौ २३ को जेनजी विद्रोह, त्यसमा भएको राज्य दमन र भदौ २४ को विध्वंससँग उनी अनिवार्य जोडिन्छन् । यसको जस अपजस उनले लिनुपर्छ । लिएका पनि छन् । 

क्रान्ति, आन्दोलन वा चुनाव, जहाँ विजेताको इतिहास लेखिन्छ । जेनजी विद्रोहको लक्ष्य व्यवस्था र सत्ता परिवर्तन थिएन । तर, परिस्थितिले सत्ता नै परिवर्तन भयो । यसमा आन्दोलन सफल भयो । यो सफलतामा सुधन जोडिन्छन् । प्रधानमन्त्रीमा सुशिला कार्कीलाई नियुक्ति गर्नेदेखि मन्त्रिपरिषद् गठनसम्म उनै छन् । उनी चाहन्थे की बालेन्द्र शाह प्रधानमन्त्री बनुन्, देश सम्हालुन् । तर, त्यसबखत बालेन्द्रले सुधन र जेनजीहरुलाई गम्भीर धोका दिए, जसै फोन नै अफ गरेर गुप्तबास पसे ।

क्रान्ति, आन्दोलन वा चुनाव, जहाँ विजेताको इतिहास लेखिन्छ । जेनजी विद्रोहको लक्ष्य व्यवस्था र सत्ता परिवर्तन थिएन । तर, परिस्थितिले सत्ता नै परिवर्तन भयो । यसमा आन्दोलन सफल भयो । यो सफलतामा सुधन जोडिन्छन् । प्रधानमन्त्रीमा सुशिला कार्कीलाई नियुक्ति गर्नेदेखि मन्त्रिपरिषद् गठनसम्म उनै छन् ।

यीनै सुधनहरुको आन्दोलनमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामीछाने जेल तोडेर निस्किए । कानुन बमोजिम पुनः जेल फर्किए । पछि रविलाई जेलबाट निस्कने वातावरण बनाए । रवि र बालेन्द्रलाई मिलाए । बालेन्द्रलाई प्रधानमन्त्री उम्मेदवार बनाए । कुलमान घिसिङलाई रवि, बालेन्द्रको रेलमा कोचिदिए । नयाँ भन्नेहरुले रास्वपाको झण्डामुनी चुनाव जित्ने र पुराना पार्टी भन्नेहरु पराजित हुने निश्चित भएको हिसाब निकालियो । बल्ल फागुन २१ को चुनाव निश्चित भयो । सुधनहरुले गराएको जेनजी विद्रोह, सुधनले गराएको रवि–बालेन्द्रको मिलनले देशमा आँधी आयो । हुरी चल्यो । बाढी आयो । अरुलाई बढार्दै रास्वपालाई करिब दुई तिहाइ दियो ।

सुधनलाई हामी युवा मानौँला । अपरिपक्व, काचो मानौँला । कतिपयको भाषामा ‘मतवाली, जनजाति, बुद्धि नभएको गुरुङ’ पनि भनिएला । बुद्धि नभएको भए यत्रो आन्दोलन कसरी सिर्जना गरे ? केपी ओलीलाई हेलीकोप्टर चढ्ने बनाएर सुशिला कार्कीलाई कसरी बालुवाटार पुर्‍याए ? रवि र बालेन्द्रलाई कसरी मिलाए ? उधोगति लागिसकेको रास्वपालाई कसरी यहाँ पुर्‍याए ? यो उमेरमा यत्रो धन सम्पत्ति कसरी कमाए ? दिपक भट्टकै सामिप्यतामा पुगे ? 

सुधनले चाहेको भए सुशिला कार्की नभइ आफै प्रधानमन्त्री बन्न सक्थे । आन्दोलनकारीले सिंहदबार कब्जा गरेकै थिए । राष्ट्रपति भवन कब्जागरिसकेका थिए । संसद, सर्वोच्च अदालत कब्जा गरिसकेका थिए । चाहेको र जानेको भए नेपाल टेलिभिजन र रेडियो नेपालमा सेना प्रमुख, प्रहरी प्रमुख, नीजामती प्रशासन प्रमुखलाई सँगै राखेर ‘आजबाट देशको सम्पूर्ण शासन सत्ता जेनजी युवाको हातमा लिएका छौँ । र, म सुधन गुरुङले प्रधानमन्त्रीको रुपमा काम सुरु गरिसकेको छु’ भनेर देशको नाममा सम्बोधन गर्न सक्थे । त्यस्तो परिस्थिति बनिसकेको थियो, जहाँ विरोध गर्ने कमै हुन्थे । 

सुधन यो कोर्षको फिल्ड मार्सल हुन् । रवि–बालेन्द्र मिलनको प्रमुख रसायन हुन् । रास्वपाको चुनावी सफलताको जग हुन् । बालेन्द्र शाहको प्रधानमन्त्रीको कुर्सीको प्रमुख आधार हुन् । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले सुधनलाई त्यसै भनेकी होइनन्, ‘कान्छो छोरा ।’ प्रधानमन्त्री बालेनले त्यसै भनेका होइनन्, ‘बाबु सुधन गुरुङज्यूले जुन भूमिका निर्वाह गर्नुभएको छ । त्यो यो देशले १०० वर्षसम्म बिर्सने छैन ।’


सुधनलाई बालेन्द्र सरकारले मन्त्रीका रुपमा गुमाएको छ । एउटा यस्तो मन्त्री, जो आजको अवस्थाको लागि भएको विद्रोहको प्रमुख कमाण्डर हो । त्यो जेनजी विद्रोह, रास्वपाको उदयले देशले के पाउँछ, के गुमाउँछ, इतिहासले जवाफ दिइहाल्छ । यो कार्षका कमाण्डर भने सुधन नै हुन् ।

सुधन पुनः कमाण्डमा फर्कने गरी सामान्य घाइते भएका हुन् वा फर्कनै नसक्ने गरी गम्भीर घाइते भए ? बालेन्द्र स्क्वाडको यो विकेट रिटायर्ड हट मात्र हो वा पतन नै हो ? सामान्य घाइते भएमा निको भएर फिल्ड कमाण्ड फर्किलान् नै । रिटायर्ड हट भएको भए मैदान फर्किएलान् नै । तर, आफ्ना कमाण्डरमाथि भएको आक्रमण र गम्भीर घाइते भएकोमा बालेन्द्र र रवि क्रोध भएको हुनुपर्छ । विछिप्त भएको हुनुपर्छ । रास्वपाका शीर्ष नेताहरु आक्रोशित भएको हुनुपर्छ । सुधनका व्यक्तगत समर्थकहरु त आक्रोशित हुने नै भए । 

सरकार र रास्वपाका लागि यो एक शोकको घडी हो । उनीहरु शोकलाई शक्तिमा बदल्ने प्रतिबद्धतासाहित अझै खरो उत्रन सक्नेछन् । यस शृङ्खलामा सुधनमाथि जुन ५० लाख बराबरको शेयर खरिदको अभियोग लाग्यो, यसको छानबिन गर्नेछन् । यो शेयर किन्ने सुधन एक्ला होइनन् । उनले मन्त्री भएर, सार्वजनिक पद धारण गरेर, अख्तियारको दुरुपयोग गरेर किनेका पनि होइनन् । यस्तै प्रकारका शेयर आफ्ना श्रीमतीको नाममा खरिद गर्ने सरकाका सचिव, आफै किन्ने प्रहरीका पूर्व उच्च अधिकारी, सञ्चार गृहका मालिक, आफू र श्रीमतिको नाममा खरिद गर्ने पत्रकार र अन्य सबै क्षेत्रको छानबिन र कारबाही गर्न सक्छ । दिपक भट्टसँग निकट सम्बन्ध भएका नेताहरुले टेबुलमाथि र मुनीबाट लिएका कोशेलीको छानबिन होला नै ।

सुधन गुरुङ आफैमा यसै बस्ने मान्छे पनि होइनन् । उनको विगत र वर्तमानले पुष्टि गर्छ । आफै जोडिएपछि त्यो प्रकरणमा जोडिएका सबैलाई अनुसन्धानको दायरामा उनैको बलमा ल्याउने छन् । उनी आफूले पनि यो अनुसन्धानमा सहयोग गर्नुपर्छ । 

एउटा जोखिम भने सुधन आफू चोख्खिन लागे, बालेन्द्र र रविले सुधनलाई चोख्याउन खोजे भने यो प्रकरणमा जोडिएका दिपक भट्टसहित सबैले उन्मुक्ति पाउने निश्चित छ ।  स्वीकार होस् वा अस्वीकार, सुधन रास्वपामा एउटा शक्ति बनिसके । उनको समूह पनि निर्माण भइसक्यो । जब उनले पार्टीले अन्याय गरेको महसुस गर्नेछन्, उनी चुप बस्ने छैनन् । 

सुधनको विकेट पतनले सुशासनको कामलाई अझ तीव्रता दिन बालेन्द्र सरकार बाध्य हुनेछ । साथै रास्वपाभित्रको ध्रुवीकरण पनि बढ्नेछ । हिजो रास्वपा रवि लामिछाने केन्द्रित थियो, जसलाई डीपी अर्यालले थामेका थिए । बालेन्द्र शाह मिसिएपछि यो शक्ति सन्तुलन परिवर्तन भई साझा प्रभावमा परिणत भएको छ । अब पालो सुधनको आएको छ, जहाँबाट उनी कि पूर्ण रूपमा कमजोर हुनेछन्, कि अझै शक्तिशाली भएर उदाउनेछन् । यो समयलाई छोडौँ ।

लेखक चिनारी

संग्रामसिंह
लेखकका अरु सामाग्री
प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७