एसईईमा ४८ हजारभन्दा बढीको ‘ए’ प्लस

बागमती प्रदेशको नतिजा सबैभन्दा सबल


२०८३ बैशाख २९ मंगलबार ०७:४३ बजे

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सोमबार राति सार्वजनिक गरिएको नतिजा अनुसार यस वर्ष सहभागी कुल परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थीले सफलता प्राप्त गरेका छन्। यो नतिजा गत वर्षको तुलनामा ४.१७ प्रतिशतले बढी हो, जसले नेपालको विद्यालय शिक्षाको गुणस्तरमा क्रमिक सुधार भइरहेको संकेत गरेको छ।

बोर्डका अनुसार यस वर्ष देशभरबाट कुल ४,३०,६६७ विद्यार्थीहरू नियमित परीक्षामा सहभागी भएका थिए। जसमध्ये २,८४,१६० विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने १,४६,५०७ विद्यार्थी 'नन-ग्रेडेड'  श्रेणीमा परेका छन्। उच्च अंक ल्याउनेको संख्यामा पनि वृद्धि भएको छ; यस वर्ष ४८,३९२ विद्यार्थीले ३.६ देखि ४.० जीपीए प्राप्त गरेका छन्। यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ८०,३७२ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ९४,२२२ रहेको छ।

प्रदेशगत नतिजा अनुसार बागमती प्रदेश ७८.०४ प्रतिशत उत्तीर्ण दरका साथ सबैभन्दा अगाडि देखिएको छ। बागमतीबाट परीक्षा दिएका ९८,८१७ विद्यार्थीमध्ये ७७,११३ जना उत्तीर्ण भएका छन्। गण्डकी प्रदेश ७२.७५ प्रतिशतका साथ दोस्रो र कोशी प्रदेश ७०.४३ प्रतिशतका साथ तेस्रो स्थानमा रहेका छन्। सुदूरपश्चिम प्रदेशको उत्तीर्ण दर भने सबैभन्दा कम (५१.२२ प्रतिशत) रहेको छ।

परीक्षा बोर्डले नतिजामा सुधार आएको बताउँदै अनुत्तीर्ण भएका वा 'एनजी' आएका विद्यार्थीका लागि साउन महिनामा मौका परीक्षा सञ्चालन गर्ने तयारी समेत गरेको छ।

परीक्षा सकिएको २९ दिनभित्रै नतिजा प्रकाशन गरेर बोर्डले यसपटक नयाँ रेकर्ड समेत कायम गरेको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार विद्यार्थीहरूले आफ्नो नतिजा see.ntc.net.np वा see.edusanjal.com मा गएर हेर्न सक्नेछन् भने नेपाल टेलिकमको १६०० नम्बरमा 'SEE ' टाइप गरी एसएमएस पठाएर पनि नतिजा थाहा पाउन सक्ने व्यवस्था मिलाइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७