सत्ताको खेलमा कांग्रेसले आफ्नै चाल बिर्सियो : भीष्मराज आङ्देम्बे

‘संसद्मा सङ्ख्याभन्दा मुद्दा र विचार बढी महत्त्वपूर्ण हुन्छ’


२०८३ जेठ १६ शनिबार १८:३८ बजे

काठमाडौँ :  काठमाडौं नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सत्ता प्राप्तिको खेलमा लाग्दा कांग्रेसले आफ्नो मौलिक पहिचान गुमाउँदै बताएका छन् । एमाले र माओवादीको चालमा मिसिँदा कांग्रेसले आफ्नै चाल बिर्सिएको उनको भनाई छ ।

ललितपुरमा आयोजित नेपाल थारु सङ्घको अधिवेशनलाई सम्बोधन गर्दै उनले सत्ताका लागि कहिले एमाले त कहिले माओवादी केन्द्रसँग सहकार्य गर्दा कांग्रेस आफ्नै मूल बाटो र चरित्रबाट विचलित भएको स्वीकार गरे। आङ्देम्बेले भने, ‘सत्ता प्राप्ति गर्नको लागि सुरु गरिएको यात्राले कहिले एमालेको चालमा ढल्किन पुग्यौँ, कहिले माओवादीको चालमा मिसिन पुग्यौँ। यी दुवैको चालमा मिसिँदा हामीले हाम्रो चाल बिर्सिन पुग्यौँ।’

कांग्रेसको वास्तविक चरित्र बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा हिमाल, पहाड, तराई-मधेसका विविध संवेदनालाई समेट्ने एकीकृत भावना नै भएको उनले प्रस्ट पारे। विगतमा कांग्रेस नेताहरूको 'खल्ती' जस्तो सङ्कुचित घेरामा परेको टिप्पणी गर्दै उनले आज खल्तीबाट बाहिर निस्केर हेर्दा देखिएको सुन्दर संसार नै कांग्रेसको असली भूमि भएको बताए।

कांग्रेसको पहिचान हराएको नभई त्यसलाई खोज्ने सोच र हातहरू मात्र हराएकाले अब एकजुट भएर गुमेको पहिचान फिर्ता ल्याउनुपर्नेमा उनले जोड दिए। वर्तमान नेतृत्वमा कांग्रेसलाई पुनःजागृत गर्ने पूर्ण जोस, जाँगर र हुटहुटी रहेकाले सबै नेता तथा कार्यकर्तालाई आ-आफ्नो ठाउँबाट ब्युँझिएर सङ्गठन निर्माणमा लाग्न उनले आह्वान गरे।

यसै प्रसङ्गमा नेता आङ्देम्बेले संसद्मा पार्टीको सङ्ख्याभन्दा पनि त्यहाँ उठाइने मुद्दा र विचार बढी महत्त्वपूर्ण हुने उल्लेख गरे। संसद्मा कांग्रेसको सङ्ख्या कम भए पनि आफूहरूले उठाउने जनसरोकारका मुद्दाहरू शक्तिशाली हुने भन्दै उनले सङ्ख्याको बलमा मात्रै लोकतन्त्र सञ्चालन हुन नसक्ने प्रस्ट पारे। संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासको संरक्षणका लागि कांग्रेसले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने उनको भनाइ थियो।

विगतमा पार्टी र संसद्लाई अलग-अलग ढङ्गले हेर्ने तथा दुवैबिच दुरी बढाएर पार्टीलाई कमजोर बनाउने सोच हाबी हुन खोजेको बताउँदै उनले अहिले संसद् र पार्टीलाई एउटै सोच र ट्र्याकमा अघि बढाउने वातावरण निर्माण गरिएको दाबी गरे।

संसद्मा लोकतान्त्रिक मूल्य–मान्यता स्थापित गर्न कांग्रेसले निरन्तर आवाज उठाइरहने बताउँदै उनले सङ्ख्याको भरमा नाङ्गो नाच नाच्नेहरूलाई मुद्दाको वजन ठुलो हुन्छ भन्ने कुरा स्थापित गराएरै छाड्ने दृढता समेत व्यक्त गरे।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७