मौसेखोलाको पानीघट्ट : जहाँ पुर्ख्यौली प्रविधि अझै जीवित छ (फोटोफिचर)
रसुवा : नौकुण्ड गाउँपालिका–६ मौसेखोलामा परम्परागत प्रविधिको जीवन्त रूप पानीघट्ट अझै निरन्तर सञ्चालनमा छ। गाउँनजिकै बग्ने मौसेखोलाको पानीलाई उपयोग गर्दै स्थानीयवासीले मकै, गहुँ, फापर र कोदोजस्ता खाद्यान्न पिस्न वर्षौंदेखि पानीघट्ट प्रयोग गर्दै आएका छन्।
आधुनिक बिजुली र डिजेलबाट चल्ने मिलहरूको पहुँच विस्तार भए पनि मौलिक स्वाद र परम्परागत पिठोका लागि यहाँका स्थानीय पानीघट्टमै बढी निर्भर देखिन्छन्। पानीको बेगबाट घुम्ने काठको मदानी र दुई ठूला गोलाकार ढुंगाको घर्षणबाट खाद्यान्न बिस्तारै पिसिन्छ। घट्टमा अन्न विस्तारै पिसिने भएकाले पिठो तात्दैन। यसले अन्नको प्राकृतिक स्वाद, सुगन्ध र पोषण कायम रहने स्थानीयवासीको विश्वास छ। यही कारण स्थानीयवासी घट्टमा पिसेको पिठोबाट बनेको ढिँडो र रोटी खान बढी रुचाउँछन्।
.jpg)
मौसेखोलाको पानीघट्ट खाद्यान्न पिस्ने ठाउँमा मात्र सीमित छैन। यो स्थानीयवासीको सामाजिक घुलमिल र आपसी भाइचाराको केन्द्रसमेत बनेको छ। बिहानैदेखि आफ्नो पालो पर्खंदै डोकोमा मकै र कोदो बोकेर आएका गाउँलेहरू घट्ट परिसरमा भेला हुन्छन्। घट्ट घुमिरहँदा उनीहरू सुख–दुःखका कुरा गर्छन्, गाउँघरका खबर आदानप्रदान गर्छन् र मेला–पर्वका बारेमा चर्चा गर्छन्। यसरी पानीघट्टको वरिपरि देखिने दृश्यले नेपाली ग्रामीण जीवनको आत्मीय र जीवन्त चित्र प्रस्तुत गर्छ।
आधुनिक प्रविधिको बढ्दो प्रभावसँगै नेपालका धेरै ग्रामीण क्षेत्रबाट परम्परागत पानीघट्टहरू लोप हुने अवस्थामा पुगेका छन्। कतिपय ठाउँमा त यस्ता घट्ट इतिहासमै सीमित भइसकेका छन्। तर मौसेखोलाका बासिन्दाले भने पुर्खाले सुरु गरेको वातावरणमैत्री र न्यून लागतको यो प्रविधिलाई निरन्तरता दिइरहेका छन्। बिजुली वा इन्धनबिनै प्राकृतिक जलस्रोतको प्रयोगबाट चल्ने पानीघट्टले स्थानीय मौलिकताको संरक्षण गर्नुका साथै गाउँलाई आत्मनिर्भर बन्नसमेत सहयोग पुर्याएको छ। मौसेखोलाको यो अभ्यासले पुर्ख्यौली प्रविधि, प्राकृतिक स्रोतको सदुपयोग र ग्रामीण जीवनशैलीको संरक्षणको सुन्दर उदाहरण प्रस्तुत गरेको छ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.gif)

.png)

