विश्वभर १ अर्ब ३० करोड मानिस सुर्तीको लतमा, ४ करोड बालबालिकाको स्वास्थ्य जोखिममा

सुर्तीजन्य पदार्थको विश्वव्यापी महामारी


२०८३ जेठ १७ आइतबार ०७:२२ बजे

काठमाडौँ :  सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम र यसको नियन्त्रणका लागि विश्वव्यापी चेतना फैलाउने उद्देश्यका साथ आज मे ३१ मा विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सदस्य राष्ट्रहरूको पहलमा सन् १९८८ देखि नियमित रूपमा मनाउन थालिएको यस दिवसले सुर्ती महामारी र यसबाट हुने अकाल मृत्यु रोक्न विश्वको ध्यानाकर्षण गराउँदै आएको छ ।

हाल विश्वका पाँचमध्ये एक वयस्क कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको प्रयोगमा संलग्न छन्, जसका कारण हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । चिन्ताजनक कुरा के छ भने, यसरी ज्यान गुमाउनेहरूमध्ये करिब १२ लाख जना अरूले गरेको धूमपानको धुवाँ (निष्क्रिय धूमपान) का कारण मृत्युको शिकार भइरहेका छन् ।

यस वर्ष डब्ल्यूएचओले सरकारहरूलाई नयाँ पुस्तालाई सुर्ती र निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ । तथ्याङ्क अनुसार विश्वभर १३ देखि १५ वर्ष उमेर समूहका कम्तीमा ३ करोड ८४ लाख बालबालिकाले सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन् । सुर्ती उद्योगहरूले युवा र किशोर–किशोरीहरूलाई लक्षित गर्दै ई–सिगरेट (भेप) र निकोटिन पाउचजस्ता नयाँ, स्वादयुक्त र आकर्षक उत्पादनहरू बजारमा ल्याएका छन् । सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरू (इन्फ्लुएन्सर) र जीवनशैलीसँग जोडिएका विज्ञापनमार्फत यसको आक्रामक प्रचारप्रसार भइरहेकाले युवा पुस्तामाझ निकोटिनको लत तीव्र गतिमा फैलिरहेको प्रतिवेदनले देखाएको छ ।

डब्ल्यूएचओका अनुसार मस्तिष्क विकासको चरणमा रहेका बालबालिका र युवाका लागि निकोटिन अत्यधिक हानिकारक र गम्भीर असर पुर्‍याउने तत्व हो । हाल विश्वभर १० करोडभन्दा बढी मानिसले ई–सिगरेट प्रयोग गर्ने गरेको अनुमान छ, तर विश्वका करिब १६० देशमा निकोटिन पाउचसम्बन्धी स्पष्ट कानुनी नियमन नै छैन ।

सुर्ती उद्योगका यस्ता नयाँ व्यापारिक रणनीतिलाई असफल पार्न डब्ल्यूएचओले सबै सरकारहरूलाई स्वादयुक्त निकोटिनजन्य उत्पादनमा प्रतिबन्ध लगाउन, विज्ञापन र प्रायोजन रोक्न तथा सार्वजनिक भित्री स्थानहरूलाई पूर्ण रूपमा धूमपान र भेप–मुक्त क्षेत्र घोषणा गर्दै कानुनी कार्यान्वयनमा कडाइ गर्न आह्वान गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७