मोबाइलको एउटा सन्देशले गुम्न सक्छ वर्षौँको कमाइ, यसरी रहनुहोस् सुरक्षित

‘चिट्ठा पर्यो’देखि ‘सस्तो फ्ल्याट’सम्मको प्रलोभनले ठगिँदै सर्वसाधारण


२०८३ भदौ ४ बिहीबार ०८:१३ बजे

काठमाडौं : ‘तपाईंलाई चिट्ठा परेको छ’, ‘सस्तोमा फ्ल्याट पाइन्छ’, ‘अनलाइन सपिङमा विशेष अफर छ’, ‘आकर्षक तलबसहित जागिर लगाइदिन्छु’ वा ‘तपाईंका लागि गिफ्ट आएको छ’— यस्ता फोन वा सन्देशको प्रलोभनमा पारेर ठगी गर्ने गिरोह सक्रिय छन्। 

नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा देशभर ५८ हजार ४ सय ७२ कसुर दर्ता भएका थिए। तीमध्ये १६ हजार ५ सय ११ वटा अर्थात् २८.२३ प्रतिशत आर्थिक अपराधसँग सम्बन्धित थिए। आर्थिक अपराधअन्तर्गत मात्रै १३ हजार ८ सय ३७ बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्, जुन कुल आर्थिक कसुरको ८३.८० प्रतिशत हो।

प्रविधिको विस्तारसँगै ठगीका तरिका पनि बदलिँदै गएका छन्। मोबाइलमा आएको एउटा फोन, सामाजिक सञ्जालमा आएको सन्देश वा अपरिचित लिंकमा गरिएको एउटा क्लिकले समेत ठूलो आर्थिक क्षति निम्त्याउन सक्ने अवस्था बनेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता दिलीप गिरीका अनुसार पछिल्लो समय ओटीपी कोड माग्ने, ह्वाट्सएप ह्याक गर्ने, आईपीएस कोड प्राप्त गर्ने, शंकास्पद लिंकमा क्लिक गराउने, चिट्ठा परेको भन्दै प्रलोभन देखाउने तथा सामाजिक सञ्जालको दुरुपयोग गरेर आर्थिक ठगी गर्ने घटना बढिरहेका छन्।

साइबर विज्ञका अनुसार पछिल्लो समय एआईको प्रयोगसँगै अरूको खाता ह्याक गर्ने प्रयाससमेत सहज बन्दै गएको छ। अधिवक्ता अञ्जनकुमार दाहालका अनुसार सामाजिक सञ्जालमा आकर्षक सामानको फोटो तथा विवरण राखेर ग्राहकलाई विश्वासमा पार्ने, अग्रिम रकम लिएपछि सामान नपठाउने वा फरक तथा न्यून गुणस्तरको सामान पठाउने घटना पनि बढिरहेका छन्। ठगीका क्रममा ओटीपी वा अन्य गोप्य कोड माग्ने तथा सामाजिक सञ्जाल ह्याक गरी बिरामी परेको बहाना बनाएर रकम ठग्ने घटना पनि हुने गरेका छन्।

ठगिएपछि के गर्ने ?

  • बैंक वा डिजिटल वालेटलाई तत्काल सम्पर्क गरी कारोबार रोक्का गर्न अनुरोध गर्ने।
  • पासवर्ड, पिन तथा आवश्यक सुरक्षा विवरण तत्काल परिवर्तन गर्ने।
  • च्याट, फोन नम्बर, लिंक, प्रोफाइल, स्क्रिनसट र भुक्तानी भौचर नमेटाउने।
  • नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा तत्काल उजुरी गर्ने।

सर्वसाधारणले के गर्ने ?

  • ओटीपी, एटीएम/आईपीएस कोड, पासवर्ड, पिन वा बैंक विवरण कसैलाई पनि नदिने।
  • अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्ने र शंकास्पद एप डाउनलोड नगर्ने।
  • ‘चिट्ठा परेको’, ‘गिफ्ट आएको’, ‘जागिर लगाइदिन्छु’ वा ‘सस्तोमा सामान पाइन्छ’ जस्ता प्रस्तावमा तुरुन्त विश्वास नगर्ने।
  • सामाजिक सञ्जालमा आएका व्यक्ति वा संस्थाको पहिचान र आधिकारिकता जाँच गरेर मात्र कारोबार गर्ने।

- अन्नपूर्णबाट

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७