बाढीपहिरोले विभिन्न राजमार्ग अवरुद्ध, यात्रा गर्दा सावधानी अपनाउन प्रहरीको आग्रह

बागमतीदेखि कर्णालीसम्म यातायात अवरुद्ध


२०८३ भदौ ४ बिहीबार ०७:१४ बजे

काठमाडौं : जारी वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकमा यातायात अवरुद्ध तथा प्रभावित भएको छ।

कोशी प्रदेशको भोजपुरमा मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी मात्र सञ्चालनमा रहेको छ। यस्तै, इलामको मेची राजमार्ग अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। यी दुवै स्थानमा वैकल्पिक मार्गको व्यवस्था रहेको प्रहरीले जनाएको छ। बागमती प्रदेशका विभिन्न सडकमा पनि वर्षाको असर परेको छ। काभ्रेको बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण राति ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। दिउँसोको समयमा भने परिस्थितिको मूल्याङ्कन गरी सवारी सञ्चालन गरिने जनाइएको छ।

मकवानपुरको कान्ति लोकपथ र नुवाकोटको टोखा–छहरे सडक खण्डमा पनि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको अरनिको राजमार्ग र रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक खण्ड भने पहिरो र बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। गण्डकी प्रदेशको लमजुङस्थित बेंसीशहर–मनाङ सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। बागलुङको कालीगण्डकी करिडोर तथा मुस्ताङको बेनी–जोमसोम र जोमसोम–कोरला सडक खण्ड भने पहिरो र बाढीका कारण एकतर्फी रूपमा सञ्चालन भइरहेका छन्।

यता कर्णाली प्रदेशको रुकुम पश्चिममा जाजरकोट–डोल्पा सडक खण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। प्रहरीले वर्षाका कारण सडकको अवस्था परिवर्तन भइरहन सक्ने भएकाले यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिन तथा यात्रा गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७