प्रधानमन्त्री बालेनलाई फेसबुकमा ख्यालठट्टा, अरुले गरे पदीय गरिमाको चिन्ता
कमेन्ट बक्समा ‘कोर टिम’ को रमाइलो
काठमाडाैं : प्रधानमन्त्री बालेन्द्र शाहको व्यक्तिगत फेसबुक खातामा शनिबार राति पोस्ट भएको एउटा अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका छन्। प्रधानमन्त्री शाहले आफ्नो पोस्टमा लेखेका छन्, 'मलाई पनि राजदूत बन्न मन छ, प्रधानमन्त्रीको नम्बर छ भने यसो दिनुस् न?'
प्रधानमन्त्रीको सोही पोस्टमा टिप्पणी गर्दै सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले पनि व्यङ्ग्य थपेका छन्। मन्त्री पोखरेलले प्रधानमन्त्रीको पोस्टमुनि 'म्यासेज गर्दिम्?' भनी टिप्पणी गरेका छन्।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु दर्शनाले कमेन्टमा लेखेकी छन्, 'पीएम पनि एम्बासडर पनि बन्न पाइँदैन। एउटा चुज गर्नुस् पहिले।" अर्की सांसद ज्वाला सङ्ग्रौलाले पनि जिस्किँदै कमेन्ट गरेकी छन्, 'मसँग छ तर दिन्नँ।'
उनीहरू मात्र नभई सामाजिक सञ्जालमा स्थापित पेज ‘रुटिन अफ् नेपाल बन्द’ का सञ्चालक भिक्टर पौडेल र फिल्म निर्माता आसिफ शाहले पनि मजाक झल्किने खालका टिप्पणी गरेका छन्। गायक दुर्गेश थापा र गायिका रचना रिमालसहित मनोरञ्जन तथा विभिन्न क्षेत्रका व्यक्तिहरू समेत प्रधानमन्त्रीको यो पोस्टमा जोडिएका छन्।
कुनै पनि भावविम्ब (इमोजी) वा ठट्टाको संकेत बिना पोस्ट गरिएको यो अभिव्यक्ति नेपाल सरकारका बहालवाला सचिव कृष्णहरि पुष्करप्रति लक्षित रहेको बुझिएको छ। यसअघि प्रधानमन्त्री शाहले व्यक्तिगत स्वार्थका लागि आफूलाई मोबाइलमा सन्देश पठाएको भन्दै सचिव पुष्करलाई प्रहरीमार्फत नियन्त्रणमा लिएर सात घण्टासम्म हिरासतमा राख्न लगाएका थिए।
पक्राउ गरेर हिरासतमा राख्नुपर्ने जस्तो फौजदारी कसुर नभएकाले प्रशासनिक क्षेत्रमा स्पष्टीकरण सोध्नुको सट्टा प्रधानमन्त्रीको ठाडो आदेशमा भएको उक्त पक्राउ प्रक्रियालाई त्यतिबेलै कानुनी शासन सम्मत मानिएको थिएन।प्रहरी प्रशासनको प्रयोगपछि प्रधानमन्त्री शाहले पुनः सामाजिक सञ्जालमार्फत आफ्नै मातहतका उच्च कर्मचारीमाथि सार्वजनिक रूपमा व्यङ्ग्य गरेपछि पदीय मर्यादाको विषयलाई लिएर विभिन्न धारणा सार्वजनिक भएका छन्।
राति पोस्ट गरिएको उक्त अभिव्यक्ति हालसम्म हटाइएको छैन। प्रधानमन्त्रीको पोस्टमा शिक्षामन्त्री पोखरेल, राजनीतिक सल्लाहकार असिम शाह, सांसदहरू रञ्जु दर्शना र ज्वाला संग्रौला लगायतले जिस्किएर टिप्पणी गरिरहेका छन् भने अर्कातर्फ नागरिकहरूले प्रधानमन्त्रीलाई पदीय गरिमा अनुकूल प्रस्तुत हुन र देशको शीर्ष पदको मर्यादा कायम राख्न सुझाव दिइरहेका छन्।
.gif)

.png)

