कांग्रेस मिलाउने अभियानमा देउवा, गगनसँग छलफल गर्ने तयारी


२०८३ भदौ ७ आइतबार १८:२० बजे

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पार्टीभित्रको विभाजन र असन्तुष्टि अन्त्य गर्दै एकता कायम गर्ने प्रयासमा सक्रिय भएका छन्। करिब पाँच महिना विदेशमा स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएका देउवाले पार्टीका विभिन्न नेतासँग भेटघाट र छलफल अघि बढाएका हुन्। उनले सभापति गगन थापासँग समेत भेटेर पार्टीको आगामी दिशा र एकताका विषयमा छलफल गर्ने तयारी गरेका छन्।

आइतबार देउवासँग भेट गरेका डडेलधुराका कांग्रेसका पूर्वसभापति कर्ण मल्लका अनुसार देउवाले पार्टीलाई एकताबद्ध बनाउन नेताहरूसँग भेटघाट सुरु गरेको बताएका छन्। देउवाले सबै पक्षलाई मिलाएर पार्टीलाई एकताबद्ध बनाउने गरी छलफल अघि बढिरहेको बताएको मल्लले जानकारी दिए। ‘बोलाएर भेटघाट र छलफल गरिरहेको छु। गगन थापालाई पनि भेट्न खबर पठाएको छु, पार्टी एकताको लागि भेटेर छलफल गर्छु,’ देउवाको भनाइ उद्धृत गर्दै मल्लले भने। 

मल्लले देउवासँगको भेटमा पार्टीभित्रको वर्तमान अवस्था, नेतृत्वबीचको दूरी र आगामी महाधिवेशनका विषयमा छलफल भएको बताए। उनले देउवालाई अभिभावकीय भूमिकामा रहेर पार्टीभित्रका सबै पक्षलाई समेट्दै नेपाली कांग्रेसलाई १५औँ महाधिवेशनतर्फ लैजान उपयुक्त हुने सुझाव दिएको बताए। सबै पक्षलाई मिलाएर १५औँ महाधिवेशन सम्पन्न गर्ने विषयमा देउवा सकारात्मक रहेको मल्लको भनाइ छ। मल्ल डडेलधुराबाट दुई पटक कांग्रेस जिल्ला सभापति भइसकेका नेता हुन्। उनी देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा उनको स्वकीय सचिवसमेत थिए।

स्वदेश फर्किएपछि देउवाले पार्टीका नेताहरूसँग भेटघाटलाई तीव्रता दिन थालेसँगै कांग्रेसभित्र आगामी महाधिवेशन, नेतृत्वको भूमिका र पार्टी एकताको विषयमा नयाँ राजनीतिक संवाद सुरु हुने संकेत देखिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७