बलात्कारपछि हत्या गरिएकी ३ वर्षिय बालिका गरिमाको गरियो अन्तिम संस्कार

सात दिनभित्र कानुनी सुधारको प्रतिवेदन


२०८३ भदौ ७ आइतबार १६:४६ बजे

सिमरा : सरकारसँग तीन बुँदे सहमति भएपछि बलात्कारपछि हत्या गरिएकी बारा जीतपुरसिमरा–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको आइतबार अन्तिम संस्कार गरिएको छ। पीडित परिवार र स्थानीयले हत्यामा संलग्नलाई कडा सजाय तथा कानुनी व्यवस्था पुनरावलोकनको माग गर्दै आन्दोलन चर्काएपछि सरकारले परिवारसँग सहमति गरेको थियो। सहमतिपछि परिवारले बालिकाको शव बुझेर अन्तिम संस्कार गर्न राजी भएको हो।

कलैया अस्पतालमा मंगलबार रातिदेखि राखिएको बालिकाको शव उनका बुवा मनोज चौधरीले बुझेपछि कलैया उपमहानगरपालिका–१४ बघवनस्थित पसाहा खोलामा लगिएको थियो। धार्मिक परम्पराअनुसार बुवा मनोजले दागबत्ती दिएका थिए। काठमाडौंबाट सरकारसँग सहमति गरेर फर्किएलगत्तै प्रहरीले मनोजलाई कलैयासम्म पुर्‍याएर शव बुझ्ने तथा अन्तिम संस्कारको व्यवस्था मिलाएको थियो।

अन्तिम संस्कारमा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, नेपाली सेनाका प्रमुख सेनानी गिरीराज गौतम, सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक सरोज निरौला, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टलगायत सुरक्षा अधिकारी तथा परिवारका सदस्य सहभागी थिए।

सरकार र पीडित परिवारबीच शनिबार राति गृह मन्त्रालयमा भएको छलफलमा तीनबुँदे सहमति भएको थियो। सहमतिअनुसार जघन्य अपराधमा विद्यमान कानुनमा रहेका कसुर तथा सजायसम्बन्धी व्यवस्था पुनरावलोकन गरी आवश्यक कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेश गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गर्नेछ।

त्यस्तै, बालिकाको सालिक निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी आवश्यक पहल गर्ने र परिवारले बालिकाको अन्तिम संस्कार गर्ने सहमति भएको थियो। सहमति भएपछि बुधबार बिहान ११ बजेदेखि अवरुद्ध पथलैया–वीरगन्ज सडकखण्ड पनि शनिबार राति १ बजेपछि सञ्चालनमा आएको थियो। बालिकाको हत्यामा संलग्नलाई मृत्युदण्ड दिनुपर्ने मागसहित पीडित परिवार र स्थानीयले सडक अवरुद्ध गर्दै आन्दोलन गरेका थिए।

बालिका साउन ३१ गते बिहान घरबाट हराएकी थिइन्। तीन दिनपछि घरदेखि करिब डेढ सय मिटर दक्षिणतर्फ रहेको खाली घरमा उनको शव अर्धनग्न अवस्थामा फेला परेको थियो। घटनाको अनुसन्धानका क्रममा प्रहरीले जीतपुरसिमरा–२ का १६ वर्षीय बालक, जीतपुरसिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरीसहित उनका परिवारका सदस्य गरी ६ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार पक्राउ परेका १६ वर्षीय बालकले बालिकामाथि बलात्कार गरी हत्या गरेको स्वीकार गरेका छन्। अनुसन्धानका क्रममा उनले बालिकालाई चकलेटको प्रलोभन देखाएर घटनास्थलमा लगेको र बलात्कारपछि डोरीले घाँटी कसेर हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ। पक्राउ परेका प्रोग्रेस चौधरी पथलैया–वीरगन्ज रुटमा चल्ने म्याजिक गाडीका चालक हुन् भने १६ वर्षीय बालक सहचालक रहेको प्रहरीले जनाएको छ।

सरकारसँग भएको सहमतिपछि तत्काल सडक आन्दोलन रोकिए पनि बालिकाका परिवार तथा स्थानीयले उठाएको न्याय र कडा कानुनी सजायको माग अब सरकारद्वारा गठन हुने समितिको प्रतिवेदन र त्यसपछि अघि बढ्ने कानुनी प्रक्रियातर्फ केन्द्रित हुने देखिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७