अमेरिकाबाटै नयाँ हास्य सिरियल, ‘म त मर्छु कि क्या हो’ ल्याउँदै धुर्मुस–सुन्तली

प्रवासमा पनि रोकिएन धुर्मुस–सुन्तलीको कला यात्रा


२०८३ भदौ ७ आइतबार १५:३८ बजे

काठमाडौं : चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाबाटै आफ्नो कलायात्रालाई निरन्तरता दिने भएका छन्। उनीहरूको निर्माण तथा निर्देशनमा अमेरिकामा नयाँ हास्य सिरियल तयार भएको छ। ‘धुर्मुस सुन्तली मिडिया’को ब्यानरमा निर्माण भएको सिरियलको नाम ‘म त मर्छु कि क्या हो’ राखिएको छ। अमेरिकाको नर्थ क्यारोलाइना राज्यका विभिन्न शहर तथा क्षेत्रमा छायांकन गरिएको सिरियल नेपाली दर्शकमाझ साप्ताहिक रूपमा प्रसारण गर्ने तयारी गरिएको छ।

निर्देशक सीताराम कट्टेलका अनुसार सिरियलको छायांकन राले, केरी, होली स्प्रिङ्स, हाई पोइन्ट, ग्रिन्सबोरोलगायत स्थानमा गरिएको छ। सिरियल हरेक शुक्रबार नेपाली समयअनुसार साँझ ८ः१५ बजे धुर्मुस सुन्तली युट्युब च्यानलमार्फत प्रसारण हुनेछ। अमेरिकामा भने शुक्रबार बिहान १०ः३० बजे हेर्न सकिनेछ। सिरियलको नाम धुर्मुसको विगतमा चर्चित संवाद तथा थेगोबाट लिइएको हो।

यसमा सीताराम र कुञ्जना आफ्ना लोकप्रिय पात्र धुर्मुस र सुन्तलीकै भूमिकामा देखिनेछन्। सिरियलको अर्को आकर्षण वरिष्ठ हास्य कलाकार मोहन मिश्रको अभिनय हो। ‘होस प्रसाद’, ‘मिस्टर फन्टुस’लगायत लोकप्रिय हास्य कार्यक्रमसँग जोडिएका मिश्र लामो समयपछि अभिनयमा फर्किएका हुन्। 

सिरियलमार्फत सीताराम र कुञ्जनाले आफ्नी छोरी सुबिहानी कट्टेललाई पनि बाल कलाकारका रूपमा डेब्यु गराएका छन्। यसबाहेक दिनेश कार्की, शंकर राज वाग्ले, संयम लामिछाने, मोनिका चौलागाईं, चुडा धिमाल र धर्म भारतीलगायत कलाकारको अभिनय रहनेछ। अमेरिकामा छायांकन गरिएको भए पनि सिरियलको कथा भने प्रवासमा नेपालीले भोग्ने जीवनसँग जोडिएको छ। अमेरिकामा बसोबास गर्ने नेपालीको संघर्ष, अवसर, सफलता र चुनौतीलाई हास्यव्यंग्यको माध्यमबाट प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।

विशेषगरी प्रवासमा नेपाली समुदायले सामना गर्ने भाषिक तथा सांस्कृतिक चुनौती, रोजगारी र व्यवसायका अनुभव, पारिवारिक सम्बन्ध, नयाँ पुस्ताको सोच तथा विदेशमा नेपालीपन जोगाउने प्रयासलाई सिरियलको कथावस्तुमा समेटिएको छ। यसका माध्यमबाट अमेरिकामा रहेका नेपालीको दैनिक जीवनका वास्तविक घटनाक्रम र अनुभवलाई मनोरञ्जनात्मक शैलीमा नेपालसहित विश्वभरका दर्शकमाझ पुर्‍याउने निर्माण पक्षको लक्ष्य छ। सिरियलमा राजु केसीको छायांकन, आशिष अविरलको गायन, प्रकाश पुञ्जको शब्द, राजेन्द्र बज्गाईंको संगीत र राजेन्द्र मानन्धरको सम्पादन रहेको छ।

अमेरिका पुगेपछि पनि सीताराम र कुञ्जना कलाकर्ममा निरन्तर सक्रिय छन्। उनीहरूले यस अवधिमा करिब एक दर्जन नेपाली व्यवसाय तथा संस्थाका विज्ञापन निर्माण गरिसकेका छन् भने थप विज्ञापन र म्युजिक भिडियोसमेत निर्माणको क्रममा रहेको सीतारामले बताएका छन्। नर्थ क्यारोलाइनामा बस्दै आएका नेपाली चलचित्रका पुराना निर्माता तथा व्यवसायी माधव ढकालले प्रवासमा रहेर नियमित रूपमा कला सिर्जनालाई निरन्तरता दिनु प्रशंसनीय भएको बताए।

‘प्रवासमा रहेर यहीँबाट नियमित रूपमा कलाकर्म सुरु गर्नु आफैंमा प्रशंसनीय काम हो। सीतारामजीले यस क्षेत्रलाई निरन्तरता दिनु सामान्य कुरा होइन,’ उनले भने, ‘यसमा हामी सबैको साथ र सहयोग रहन्छ।’ सिरियलमार्फत सीताराम र कुञ्जनाले आफू जहाँ रहे पनि सिर्जनात्मक यात्रालाई निरन्तरता दिन सकिन्छ भन्ने सन्देश दिन खोजेका छन्। ‘मुख्य रूपमा अब दर्शकले हाम्रो सिरियल नियमित रूपमा हेर्न पाउनुहुनेछ,’ सीतारामले भने, ‘हामी जहाँ रहे पनि आफ्नो कला र सिर्जनालाई निरन्तरता दिन सकिन्छ भन्ने सन्देश दिन चाहन्छौँ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७