बलात्कार आरोपपछि ‘बले’ छायाङ्कन भइरहेको फिल्मबाट निकालिए
काठमाडौं : बलात्कारको आरोप सार्वजनिक भएपछि हास्य कलाकार सागर लम्साल 'बले'लाई छायाङ्कन भइरहेको फ्लिम ‘पाँच पाण्डव’बाट निर्माण टिमले हटाएका छन् ।
झापामा छायांकन भइरहेको उक्त चलचित्रमा लम्साल मुख्य भूमिकामा थिए। तर आरोप सार्वजनिक भएसँगै निर्माण टिमले उनलाई परियोजनाबाट अलग गर्ने निर्णय गरेको हो।
'यस्तो समाचार आएपछि हामीले पनि उहाँको बारेमा सोच्नु पर्नेभयो । उहाँ त्यस्तो मान्छे हो जस्तो त लाग्दैन,' चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता नवीन श्रेष्ठले विज्ञप्तिमार्फत भनेका छन् 'यस्तो समाचार आएपछि हामीले उहाँको ठाउँमा अर्को कलाकाकार भित्र्याइसक्यौँ ।'
निर्माण पक्षका अनुसार लम्सालसँग छायांकन भएका अधिकांश दृश्यसमेत हटाइने र फिल्म पुनः छायांकन (रि–सुट) गरिनेछ।
चलचित्रको छायांकन चैत २ गतेबाट सुरु भएको थियो । फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, दीपाश्री निरौला, जनी गुरुङ, प्रशान्त ताम्राकार र इभा गुरुङलगायत कलाकारको अभिनय रहेको छ ।
बसन्त निरौलाले निर्देशन गरिरहेका यस चलचित्रको कथा सुशील पौडेलले लेखेका हुन्। निर्माण काली रानी श्रेष्ठले गरिरहेकी छिन् भने छायांकन श्याम तामाङले सम्हालेका छन्।
यसअघि, अमेरिकामा बस्दै आएकी एक युवतीले सामाजिक सञ्जालमार्फत लम्सालमाथि बलात्कारको आरोप लगाएकी हुन् ।
फेसबुकमार्फत युवतीले भनेकी छन्, ‘कुराकानी हुँदै जाँदा उहाँले तिमी बसेको ठाउँ हेरौँ न त भन्नुभयो, अनि मैले १० वर्षभन्दा बढी समयदेखि चिन्ने र दाइ मानेको मान्छेलाई विश्वास गरेर आफ्नो अपार्टमेन्ट देखाउन लगेँ । मलाई थाहा थिएन, जसलाई म दाइ मान्थे र हाम्रो परिवारले आफ्नै जस्तो ठान्थ्यो, त्यो मानिस त एउटा राक्षस रहेछ, म बलात्कृत भएँ ।’
उनले आफू लामो समयदेखि मानसिक तनावबाट गुज्रिरहेको उल्लेख गर्दै न्याय पाउने आशा कम भएको पनि बताएकी छन्।
‘आज अलि हिम्मत आयो र यो लेखेँ, मलाई थाहा छ, मैले न्याय पाउँदिनँ, र अब लड्ने हिम्मत पनि छैन, तर जसले मसँग यस्तो गलत गर्यो, उसले आफ्नो कर्मको परिणाम भोग्नैपर्छ, भविष्यमा उसले अरू कसैसँग यस्तो गर्न नपाओस् ।’

.gif)

.png)

